Sur Cinema

७ मिनेट लामो ‘जेठानी भर्सेस देउरानी’मा केकी र आँचलको रोचक भिडन्त

काठमाडौं : असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको सिनेमा ‘झिंगेदाउ २’को तीज लक्षित गीत सार्वजनिक गरिएको छ। फिल्मको ‘जेठानी भर्सेस देउरानी’ बोलको गीत आज ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो।

करिब ७ मिनेट लामो गीतमा सिनेमाका दुई मुख्य पात्र जेठानी र देउरानीबीचको झगडालाई रोचक ढंगले प्रस्तुत गरिएको छ। गीतमा बाबुल गिरीको शब्द तथा संगीत रहेको छ भने एलिना चौहान र रचना रिमालले स्वर दिएका छन्।

सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य अभिनेत्री केकी अधिकारी र आँचल शर्माबीचको घम्साघम्सी देखाइएको छ। सिनेमामा केकी जेठानी र आँचल देउरानीको भूमिकामा प्रस्तुत भएका छन्। गीतमा प्रयोग गरिएका संवाद तथा रमाइला लाइनहरूले सामाजिक सञ्जालमा चर्चा पाउने अपेक्षा गरिएको छ।

गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। अभिनेत्री केकी र आँचलले गीत तथा सिनेमालाई दर्शकबाट राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

कपनगढी सिनेमा प्रा.लि. र फिल्म क्रिउ नेपाल प्रा.लि.को ब्यानरमा निर्माण भएको सिनेमालाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। सिनेमामा सुलभ प्रतीक देउजा र समीक्षा देउजाको लगानी रहेको छ। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माताका रूपमा रहेका छन्।

विष्णु घिमिरे ‘कल्पित’को डीओपी रहेको सिनेमालाई मित्र डी. गुरुङले सम्पादन गरेका छन्। सिनेमामा अर्जुन पोखरेलको संगीत तथा रोशन श्रेष्ठको एक्सन निर्देशन रहेको छ। सिनेमाका प्रोडक्सन हेड ईश्वर घिमिरे हुन्।

सिनेमामा केकी अधिकारी र आँचल शर्मासँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउँवाला गौतम, सरोज खनाल, बसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायत कलाकारको अभिनय रहेको छ।

परिच्छेद सेनको पटकथा तथा संवाद रहेको सिनेमाको लेखन गोविन्दु फुयाँल र शिशिर चालिसेले गरेका हुन्। सिनेमाको टिजरले यसअघि नै दर्शकको ध्यान खिचिसकेको छ। अब केही दिनमै सिनेमाको ट्रेलरसमेत सार्वजनिक गर्ने तयारी निर्माण पक्षको छ।