काठमाडौं : निश्चल बस्नेत निर्देशित सिनेमा ‘दिमाग खराब’को नयाँ गीत रिलिज गरिएको छ। निर्माण टिमले बिहीबार ‘हितैको माया’ बोलको गीत रिलिज गरेको हो।
गीत निकै मार्मिक छ। सुगम पोखरेल र इन्द्रकला राईको स्वर रहेको गीतमा जयन जे सुब्बाको शब्द तथा संगीत रहेको छ। सुन्ने जोकोहीको मन गीतले छुन्छ।
गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का र रमा थपलियाको कारुणिक अभिनय देख्न सकिन्छ। उनीहरूको जीवन्त अभिनयले भिडियो हेर्ने दर्शकको मन चसक्क हुन्छ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माणमा तयार भएको ‘दिमाग खराब’ आगामी कार्तिक २४ गतेबाट प्रदर्शनमा आउँदैछ। सिनेमाको कथा आकाश बरालले लेखेका हुन्।
खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया लगायतका अब्बल कलाकारहरुको अभिनय सिनेमामा दर्शकले हेर्न पाउनेछन्।
वर्तमान राजनीति विषयलाई सिनेमामा उठाइएको छ। रौनक विक्रम कँडेल सिनेमाका निर्माता हुन् भने सुरज बम ठकुरी कार्यकारी निर्माता हुन्।

















