Sur Cinema

‘पाँच पाण्डव’प्रति दर्शकको राम्रो प्रतिक्रिया, के भन्छन् हरिवंश?

काठमाडौं : अभिनेता हरिवंश आचार्यले सिनेमा ‘पाँच पाण्डव’ले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको बताएका छन् । दर्शकको प्रतिक्रिया बुझ्न हल पुगेका उनले सिनेमा हेर्ने दर्शकले प्रशंसा गरिरहेको बताएका हुन् ।

हरिवंशका अनुसार दर्शकले ‘पाँच पाण्डव’लाई परिवारसहित हेर्न मिल्ने पारिवारिक सिनेमाका रूपमा लिएका छन् । सिनेमा प्रदर्शनअघि धर्मसँग जोडिएर उठेको विवादबारे उनले कसैको चित्त दुखाउने वा धर्मलाई नराम्रो देखाउने उद्देश्य नरहेको स्पष्ट पारे । सिनेमा हेरेपछि दर्शकले पनि त्यस्तो कुनै विषय नरहेको प्रतिक्रिया दिएको उनको भनाइ छ ।

बसन्त निरौलाको निर्देशनमा बनेको सिनेमामा हरिवंश आचार्य, महेश त्रिपाठी, जितु नेपाल, विनोद न्यौपाने, आर्यन सिग्देल, सुशील सिटौला, इभा गिरीलगायत कलाकारको अभिनय छ ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन् । सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गरेको छ । सिनेमालाई आरआर फिल्म्सले देशव्यापी वितरण गरेको हो ।