Sur Cinema

पल, प्रदीप र सिम्रनलाई एकसाथ लिएर कृषाले थालिन् नयाँ सिनेमा

काठमाडौं : अभिनेता पल शाह र प्रदीप खड्का पुनः एउटै सिनेमामा देखिने भएका छन् । कृषा चौलागाईंको निर्देशनमा बन्ने नयाँ सिनेमामा यी दुई अभिनेतालाई एकसाथ पर्दामा उतार्न लागिएको हो । केपी फिल्म्स र पुरुषोत्तम फिल्म्सको ब्यानरमा निर्माण हुने सिनेमाको आज पूजाआजासहित शुभमुहूर्त गरिएको छ ।

सिनेमामा पल र प्रदीपसँगै अभिनेत्री सिम्रन पन्त र नवअभिनेत्री जुना विश्वकर्माको पनि अभिनय रहनेछ । लक्ष्मी गिरी, राजाराम पौडेल, लक्ष्मीनाथ तिमल्सिना र सुरज तमुलगायत कलाकार पनि सिनेमामा देखिनेछन् ।

अभिमन्यु निरविको कथा तथा संवाद रहेको सिनेमाको छायांकन मंसिरबाट म्याग्दीका रमणीय स्थानमा सुरु हुनेछ । त्यसपछि काभ्रेको बनेपामा पनि छायांकन गरिने निर्माण पक्षले जनाएको छ ।

विशाल चौलागाईंको निर्माण रहने सिनेमालाई पुरुषोत्तम प्रधानले खिच्नेछन् । सिनेमामा सुरेश अधिकारी, राजनराज सिवाकोटी र हर्क साउदको संगीत रहनेछ । आरआर फिल्म्सले वितरण गर्ने सिनेमा आगामी नयाँ वर्षमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ ।