काठमाडौं : सिनेमा ‘चिरञ्जीवी भवः’को नयाँ गीत ‘जाले रुमाल’ सार्वजनिक भएको छ । निर्माणपक्षले ओएसआर डिजिटलमार्फत सार्वजनिक गरेको गीतमा रचना रिमाल, रामचन्द्र काफ्ले र बाबुल गिरीको स्वर छ । शब्द दीपकप्रसाद आचार्य र संगीत बाबुल गिरीको छ ।
लोकलयमा आधारित गीतमा युवक र युवतीबीचको प्रेमिल सवाल–जवाफ प्रस्तुत गरिएको छ । विवाहको परिवेशमा तयार भिडियोमा आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत अधिकांश कलाकार देखिएका छन् । रमाइलो माहोलसँगै भिडियोको अन्तिम दृश्यले कथामा आउने घटनाक्रमप्रति कौतूहलता जगाउँछ । गीतको कोरियोग्राफी गम्भीर विष्टले गरेका हुन् ।
दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको सिनेमामा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझी मुख्य भूमिकामा छन् । हरिवंश ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् । सिनेमामा करिश्मा मानन्धर, कमलमणि नेपाल, अभय बराल, हरिस निरौला, सुमन कार्कीलगायत कलाकारको अभिनय छ ।
कुमार कट्टेल ‘जिग्री ब्रो’को कथामा निर्माण भएको सिनेमाको पटकथा तथा संवाद लेखनमा सविन अधिकारी र वसन्त न्यौपाने छन् । दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथा प्रस्तुत गर्ने सोसल ड्रामा माघ १ गते (जनवरी १५) देखि प्रदर्शनमा आउनेछ । सिनेमाको देशव्यापी वितरण आरआर फिल्म्सले गर्दैछ ।


















