काठमाडौं : आगामी मंसिर ४ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘जलाकी’को रोमान्टिक गीत ‘पहिलो माया’ सार्वजनिक भएको छ । सरित रायनको संगीत तथा कम्पोज रहेको गीतमा राम अबिरल बिष्टको शब्द, रोहित सोनार र मेलिना राईको स्वर रहेको छ ।
सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार उपासना सिंह ठकुरी र सोनम तोप्देनसँगै शिल्पा मास्के, राजु रेग्मी मगर, अस्तित्व भट्टचन, साहारा हाङमा लिम्बू र दीपिका मगर फिचर्ड छन् । प्रेम र आकर्षणको भाव समेटिएको गीतमा सोनम र उपासनाको जोडी आकर्षक देखिएको छ ।
यसअघि सिनेमाका ‘चाँदी जलप’, ‘जाले रुमाल मायालाई’ र ‘कलेजीको छेउ’ बोलका गीत सार्वजनिक भइसकेका छन् । ती गीतले युट्युब तथा टिकटकमा राम्रो प्रतिक्रिया पाएका छन् ।
‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित ‘जलाकी’मा मगर र गुरुङ समुदायको संस्कृति, परम्परा र भावनालाई प्रस्तुत गरिएको छ । एम मिडिया प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा उपासना, सोनम, शिल्पा, माओत्से गुरुङ, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ । यसै सिनेमाबाट साहारा हाङमा लिम्बूले नेपाली रजतपटमा डेब्यु गरेकी छन् ।
ओम घर्ती मगरसहितको निर्माण रहेको सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुबेर सिने डिष्ट्रिब्युसनले वितरण गर्नेछन् ।


















