काठमाडौं : सिनेमा ‘सिन्दुरे जात्रा’को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ । सरोज पौडेलको निर्देशनमा बनेको सिनेमाको पोस्टरमा मुख्य कलाकार विजय बराल र अञ्जना बराइली भावुक मुद्रामा देखिएका छन् ।
पोस्टरमा विजयको छातीमा टाँसिएकी अञ्जना रोइरहेकी छन् भने विजयका आँखामा पनि आँसु देखिन्छ । गाउँले परिवेश, जात्राको भीड र पात्रहरूको अवस्थाले सिनेमामा कुनै गम्भीर घटनाक्रम रहेको संकेत गर्छ ।
सिनेमामा विजय र अञ्जनासँगै विनोद न्यौपाने, उषा खड्गी, रामप्रसाद खनाल, लोकेन्द्र लेखक, कमलमणि नेपाल, भोला राज सापकोटालगायत कलाकारको अभिनय छ ।
सबिन अधिकारी र वसन्त न्यौपानेको लेखन रहेको सिनेमाको कथा निर्देशक पौडेल स्वयंले तयार पारेका हुन् । सारङ्गी फिल्म्सको प्रस्तुतिमा नेम महर्जनले निर्माण गरेको सिनेमा मंसिर १८ गतेदेखि प्रदर्शनमा आउनेछ ।
विजय र अञ्जनाको यो दोस्रो सहकार्य हो । यसअघि उनीहरूले ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’मा सँगै काम गरेका थिए ।


















