काठमाडौं : प्रसिद्ध भारतीय गायिका कल्पना पटवारीको स्वरमा सजिएको छठ गीत ‘करीले परबिया’ सार्वजनिक भएको छ । आगामी छठपर्वलाई लक्षित गरी निर्माण गरिएको भोजपुरी भाषाको गीतमा मिथिलाको धर्म, संस्कृति र परम्परालाई प्रस्तुत गरिएको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्यतामा मंगलबार गीत सार्वजनिक गरिएको हो । फिल्म निर्मात्री तथा समाजसेवी शर्मिला थापाले निर्माण गरेको गीतको भिडियो जनकपुरधामस्थित जानकी मन्दिर, राजदेवी मन्दिर र गंगासागरमा छायांकन गरिएको छ । भिडियोमा मधेश प्रदेशका कलाकारहरू देखिएका छन् ।
गीतमा शिव साजनको शब्द तथा संगीत, शिशिर पाण्डेको संगीत संयोजन र अनिल बागीको मिक्सिङ तथा मास्टरिङ छ । कमलेश सिंह (काम ली)को निर्देशन रहेको भिडियोमा शर्मिला थापा, निभा यादव, सिमरन साह, अमृता साह र सिमरन सोनीको अभिनय छ ।
गीत सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री यादवले मधेशको संस्कृति र धार्मिक परम्परालाई प्रवर्द्धन गर्ने प्रयासको प्रशंसा गरे । निर्माता शर्मिला थापाले पनि मिथिलाको कला, संस्कृति र परम्परालाई गीत–संगीत तथा चलचित्रमार्फत अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य रहेको बताइन् ।
उडान इन्टरटेन्मेन्टको युट्युब च्यानलबाट सार्वजनिक गीतको भिडियो उडान प्रोडक्सन्सले निर्माण गरेको हो ।


















