काठमाडौं : आगामी मंसिर ११ गते प्रदर्शनमा आउने सिनेमा ‘सारथी’को गीत ‘मयाली’ सार्वजनिक भएको छ । निर्माण टिमले म्युजिक नेपालको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो ।
प्रशान्त शिवाकोटीको शब्द तथा संगीत रहेको गीतमा प्रशान्त र रचना रिमालको स्वर छ । प्रेमभाव समेटिएको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार गिरी विश्वकर्मा र गायत्री जोशी रोमान्टिक नृत्यमा प्रस्तुत छन् । भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन् ।
कुमार गजुरेलको निर्देशन रहेको सिनेमामा निरुता सिंह, उत्तम प्रधान, मुकुन्द श्रेष्ठ, राजेन्द्र केसी, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशीलगायत कलाकारको अभिनय छ । निर्देशक गजुरेलकै कथा, पटकथा तथा संवाद रहेको सिनेमाको सम्पूर्ण छायांकन म्याग्दीको गुर्जा क्षेत्रमा गरिएको हो ।
किम्भे प्रोडक्सन र धीरज फिल्म इन्फिनिटीको ब्यानरमा निर्मित सिनेमाका प्रस्तुतकर्ता तारा थापा ‘किम्भे’ हुन् । रदिप श्रेष्ठ र प्रदीप रायमाझी निर्माता रहेको सिनेमालाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


















