Sur Cinema

दयाहाङको काजी फेरि चर्चामा, नयाँ गीतले छोयो मन

काठमाडौं : सफल प्रदर्शनको क्रममा रहेको सिनेमा ‘कबड्डी ५’ को नयाँ गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ। बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतले काजी (दयाहाङ राई) को भावनात्मक उतारचढाव र भित्री संवेदनालाई उजागर गरेको छ।

कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वर रहेको गीतमा काजीको ‘कबड्डी’ शृङ्खलादेखिको यात्रालाई सांगीतिक रूपमा प्रस्तुत गरिएको छ। यसअघि सार्वजनिक भएको ‘थाक खोला’ गीतले जस्तै नयाँ गीतले पनि दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुलाउन थालेको छ।

उता, कात्तिक ६ गतेदेखि प्रदर्शनमा रहेको ‘कबड्डी ५’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। निर्देशक रामबाबु गुरुङका अनुसार चलचित्रले मंगलबारसम्म ७ करोड रुपैयाँभन्दा बढी कमाइसकेको छ भने अधिकांश शो हाउसफुल भइरहेका छन्।