Sur Cinema

दाजुभाइको एकताको सन्देश बोकेर आयो ‘पाँच पाण्डव’को गीत

काठमाडौं : कात्तिक २० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक भएको छ। सत्यराज आचार्य र स्वरूपराज आचार्यको स्वर रहेको गीतमा अर्जुन पोखरेलको संगीत तथा डा. कृष्णहरि बरालको शब्द छ।

दाजुभाइबीचको प्रेम, विश्वास र एकताको भाव समेटिएको गीतको भिडियोमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौलालाई देख्न सकिन्छ। भिडियोको अन्त्यमा द्रौपदीको भूमिकामा इभा गिरी देखिएकी छन्। गीतमा गम्भीर विष्टको कोरियोग्राफी, श्याम तामाङको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन छ।

बसन्त निरौलाको निर्देशनमा बनेको सिनेमामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला पाँच पाण्डवको भूमिकामा छन्। सिनेमामा दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरीलगायत कलाकारको अभिनय छ।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता नवीन श्रेष्ठ तथा निर्माता काली रानी श्रेष्ठ हुन्। सुशील पौडेलको कथा, पटकथा तथा संवाद रहेको सिनेमाले महाभारतका पाँच पाण्डवका चरित्र र विम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ। सिनेमालाई आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ।