काठमाडौं : आगामी कार्तिक २६ गतेदेखि प्रदर्शनमा आउने सिनेमा ‘बाटुलो जून’मा समावेश डान्सिङ नम्बर ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक भएको छ । अभिनेता अनमोल केसी स्टारर सिनेमाको गीत निर्माण टिमले आइतबार युट्युबमार्फत सार्वजनिक गरेको हो ।
गीतको भिडियोमा अनमोलसँगै डेब्यू अभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन् । पुरानो नेपाली समाजको मौलिक परिवेशमा खिचिएको भिडियोमा अनमोल र प्रिन्सीबीचको दोहोरी नोकझोक र प्रेमिल केमेस्ट्री आकर्षक देखिन्छ । नजिकिँदो तिहार र देउसी–भैलोको सांस्कृतिक माहोललाई लक्षित गर्दै गीत सार्वजनिक गरिएको निर्माण टिमले जनाएको छ ।
गीतमा रुबै र प्रविण बेडुवालको स्वर छ । रूप महानताले संगीत निर्माण, मिक्सिङ तथा मास्टरिङ गरेका छन् । पञ्चेबाजा, सारङ्गी, गितार र बाँसुरीको धुनले गीतलाई मौलिक स्वाद दिएको छ ।
भुवन केसीको निर्देशनमा बनेको ‘बाटुलो जून’ सनराइज पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको हो । सिनेमामा ३० देखि ४० को दशकको नेपाली परिवेशमा आधारित प्रेमकथा प्रस्तुत गरिएको छ । तत्कालीन सामाजिक परिवेश, जीवनशैली र प्रेम गर्ने शैलीलाई पर्दामा उतार्ने प्रयास गरिएको निर्माण टिमले जनाएको छ ।
निर्देशक केसीका अनुसार ‘बाटुलो जून’ पुरानो समयको कथा मात्र नभई उनको आफ्नै सिनेमायी यात्रासँग पनि जोडिएको छ । तत्कालीन समयका लोकप्रिय अभिनेता केसी स्वयं सिनेमामा महत्त्वपूर्ण भूमिकामा देखिँदैछन् । सिनेमाको लेखनमा सामीप्यराज तिमल्सेना र सरिन पोखरेलले सहकार्य गरेका छन् ।
राजेश श्रेष्ठको छायांकन, कृष्ण भण्डारीको सम्पादन र रोमन बज्राचार्यको पार्श्व संगीत रहेको सिनेमाका एसोसिएट निर्देशक प्रदीप श्रेष्ठ हुन् । जिया केसी र भविष्य खड्काले निर्माण गरेको सिनेमामा विवेक थापा सह–निर्माताका रूपमा छन् । यसै सिनेमामार्फत अभिनेत्री गरिमा पन्तले लामो समयपछि अभिनयमा पुनरागमन गरेकी छन् ।


















