काठमाडौं : नेपाल चलचित्र कलाकार संघले ‘साथी राइड’को शुभारम्भसँगै बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा वरिष्ठ कलाकारहरू भुवन चन्द, चैत्यदेवी सिंह र बसुन्धरा भुसालले संयुक्त रूपमा ‘साथी राइड’को शुभारम्भ गरेका हुन्।
संघका अध्यक्ष उत्तम केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा चलचित्रकर्मी, कलाकार, प्राविधिक तथा पत्रकारहरूको उपस्थिति थियो। वक्ताहरूले प्राकृतिक विपत्तिबाट प्रभावित जनजीवनलाई ध्यानमा राख्दै दशैं सादगीपूर्ण रूपमा मनाउन र नेपाली कला, संस्कृति तथा स्वदेशी सेवाको प्रवर्द्धनमा जोड दिए।
कार्यक्रममा विभिन्न सांस्कृतिक तथा सांगीतिक प्रस्तुति राखिनुका साथै ‘साथी राइड’ एपका प्रयोगकर्ता र राइडरलाई गोलाप्रथामार्फत पुरस्कार वितरण गरिएको थियो। साथी मोबिलिटी प्रा.लि.को विशेष सहयोगमा सम्पन्न कार्यक्रमले नेपाली जनशक्ति, प्रविधि र स्वदेशी सेवाको प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

















