Sur Cinema

‘मेरो मन चोर्यौ सुटुक्कै’मा अनमोल–प्रिन्सी, पुरानो समयको झल्को

काठमाडौं : भुवन केसी निर्देशित सिनेमा ‘बाटुलो जुन’को पहिलो गीत ‘मेरो मन चोर्यौ सुटुक्कै’ सार्वजनिक भएको छ। घटस्थापनाको अवसर पारेर सार्वजनिक गीतमा युग भुसालको शब्द तथा संगीत, तृषा चटर्जी र हिमांशु जान शर्माको स्वर छ। गीतको भिडियोमा विक्रम स्वारको कोरियोग्राफी छ।

भव्य निर्माण र आकर्षक गीतका लागि चिनिएका भुवनले यस गीतमा पनि आफ्नो पुरानो शैलीलाई निरन्तरता दिएका छन्। खोला किनार, घुम, डन्डिबियो र मकैघारीजस्ता दृश्यले पुरानो समयको झल्को दिन्छन्। साथै, भिडियोले सिनेमाको टिजरमा देखाइएको कथा र परिवेशलाई थप अगाडि बढाएको छ।

गीतमा मुख्य कलाकार अनमोल केसी र नवअभिनेत्री प्रिन्सी खतिवडा फिचर्ड छन्। अनमोलको हाउभाउमा पिता भुवन केसीको पुरानो छवि झल्किन्छ भने प्रिन्सीको अभिनय र अभिव्यक्तिमा पनि पुराना अभिनेत्रीको शैलीको आभास पाइन्छ।
भुवन केसीको दोस्रो निर्देशकीय सिनेमामा भुवनसँगै गरिमा पन्तको पनि अभिनय छ। सामीप्यराज तिमल्सेना र सरिन पोखरेलको लेखन रहेको सिनेमा आगामी कात्तिक २६ गतेदेखि प्रदर्शनमा आउनेछ। जिया केसी र भविष्य खड्काले निर्माण गरेको सिनेमामा विवेक थापा सहनिर्माता छन्।