Sur Cinema

काठमाडौंदेखि मोफसलसम्म ‘बाः एक योद्धा’को चर्चा, तेस्रो सातामा प्रदर्शन

काठमाडौं : बलियो ‘वर्ड अफ माउथ’का कारण सिनेमा ‘बाः एक योद्धा’ले तेस्रो सातामा पनि प्रदर्शनको रफ्तार कायम राखेको छ । पारिवारिक कथा र बाबुको त्यागलाई प्रस्तुत गरेको सिनेमालाई दर्शकले ‘हेर्नैपर्ने सिनेमा’ भन्दै प्रशंसा गरिरहेका छन् ।

निर्देशक हरि लम्सालसहित कलाकार र निर्माण टोली हेटौंडा, चितवन, नेपालगञ्ज, वीरगञ्ज, सुर्खेत, दाङ र पोखरालगायत सहरमा दर्शक भेटेर काठमाडौं फर्किएको छ । “काठमाडौंमा जस्तै मोफसलका दर्शकले पनि साथ दिनुभएको छ । दर्शकको माया र प्रतिक्रियाले सिनेमा तेस्रो सातासम्म आइपुगेको हो,” निर्देशक लम्सालले भने ।

सिनेमाले प्रदर्शनको १० दिनमा १ करोड ९३ लाख ६ हजार ४६५ रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । सन्तानको भविष्यका लागि बाबुले गर्ने त्याग, संघर्ष र वृद्धावस्थामा भोग्नुपर्ने उपेक्षाको कथा प्रस्तुत गरिएको सिनेमामा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायतको अभिनय छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको सिनेमा आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको हो । वसन्त लम्साल निर्माता रहेको सिनेमामा अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर र कृष्ण काफ्ले सह–निर्माता छन् ।