काठमाडौं : वर्षकै प्रतीक्षित सिनेमामध्ये एक ‘१२ गाउँ २’को प्रेमिल गीत ‘लालीगुराँस’ सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गीतमा शिव परियार र सारोही कुमारको स्वर तथा युग भुसालको शब्द र संगीत छ।
प्रेम, समर्पण र मायालु जोडीका भावनालाई प्रकृतिको बिम्बमार्फत प्रस्तुत गरिएको गीतको भिडियोमा मुख्य कलाकार समीर भट्ट र कृशु शाहीको नृत्य देख्न सकिन्छ। भिडियोको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन्।
विराज भट्टको निर्देशन रहेको ‘१२ गाउँ २’ फूलपातीको दिन अर्थात् असोज ३० गतेबाट प्रदर्शनमा आउँदैछ। सिनेमामा समीर र कृशुसहित विराज भट्ट, अनुपविक्रम शाही, प्रकाश शाहलगायत कलाकारको अभिनय छ। यही सिनेमाबाट कृशु शाही र वर्षा इटनीले नेपाली रजतपटमा डेब्यु गर्दैछन्।
विराज भट्ट फिल्म प्रोडक्सन प्रालिको प्रस्तुति रहेको सिनेमाको कथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेलको छायांकन, बन्दे प्रसादको सम्पादन तथा युग भुसाल र डीपी खनालको संगीत रहेको सिनेमामा रामजी लामिछाने र सियोन श्रेष्ठको नृत्य तथा स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन छ।सिनेमाको वितरण काफिया फिल्मस् र कुबेर सिनेमाले गर्नेछन्।


















