Sur Cinema

‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर सम्पन्न

काठमाडौं : सगरमाथाको साहस, संघर्ष, सपना र बदलिँदो हिमाली वातावरणको कथा समेटिएको नेपाली वृत्तचित्र ‘रोड टु एभरेस्ट’को नेपाल प्रिमियर शनिबार काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरको क्यूएफएक्स हलमा सम्पन्न भएको छ।

वि विल राइज फाउण्डेसनद्वारा निर्मित ५० मिनेट लामो वृत्तचित्रमा समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको यात्रा, पर्वतारोहणका चुनौती, शेर्पा समुदायको योगदान तथा जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको प्रभाव प्रस्तुत गरिएको छ।

वृत्तचित्रको केन्द्रमा ५० वर्ष नाघेका राज गुरुङको सगरमाथा आरोहण यात्रा रहेको छ। निर्देशक निर्मल श्रेष्ठले सगरमाथालाई चिनाउनेभन्दा पनि नेपाली दृष्टिकोणबाट बुझाउने उद्देश्यले फिल्म निर्माण गरिएको बताए।

प्रिमियरपछि दर्शकले वृत्तचित्रको विषयवस्तु, प्रस्तुति र सन्देशको प्रशंसा गर्दै नेपालीले आफ्नै हिमालको कथा आफ्नै दृष्टिकोणबाट प्रस्तुत गरेको प्रतिक्रिया दिएका थिए।

‘रोड टु एभरेस्ट’ नेपालका विभिन्न स्थानमा प्रदर्शन गर्नुका साथै अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल तथा सिनेमा हलमा लैजाने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ। यसको अन्तर्राष्ट्रिय प्रिमियर आगामी भदौ २८ गते हङकङमा हुने बताइएको छ।