काठमाडौं : अभिनेत्री सुहाना थापाले सिनेमा ‘बा: एक योद्धा’ दर्शकसँग भावनात्मक रूपमा जोडिने बताएकी छन्। भदौ १९ गतेदेखि प्रदर्शनमा आउने सिनेमा आफूलाई फरक र विशेष लागेको उनको भनाइ छ।
सिनेमामा सन्तानको भविष्यका लागि अभिभावकले गर्ने त्याग, संघर्ष र समर्पणलाई प्रस्तुत गरिएको छ। सुहानाका अनुसार आफूले पनि आफ्ना बुबाले गरेका त्यागलाई पात्रमार्फत महसुस गर्ने अवसर पाएकी छन्।
“हामीलाई बाबा–आमाले हाम्रो लागि गरेको त्याग थाहा हुन्छ, तर उहाँहरूकै अगाडि खुलेर भन्न सक्दैनौँ। मेरो पात्रले मेरो लागि बुबाले गर्नुभएको त्यागलाई परिभाषित गरिदिएको छ,” सुहानाले भनेकी छन्।

सिनेमामा रमाइलो पक्षसँगै दर्शकलाई आफ्नै कथा सम्झाउने भावनात्मक प्रसंग रहेको उनको दाबी छ। त्यसैले उनले सबैलाई ‘बा: एक योद्धा’ हेर्न आग्रह गरेकी छन्।

हरि लम्सालको लेखन तथा निर्देशन रहेको सिनेमामा सुहानासहित दिव्यदेव पन्त, झरना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापाको अभिनय छ।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको सिनेमाका निर्माता वसन्त लम्साल हुन्। अनिल बुढाथोकी कार्यकारी निर्माता तथा कृष्ण काफ्ले सह–निर्माता छन्। शिवराम श्रेष्ठको छायांकन रहेको सिनेमालाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ।
कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको ‘बा: एक योद्धा’ हरि लम्सालको फिचर सिनेमा निर्देशनमा डेब्यु हो।


















