Sur Cinema

युट्युबमा ‘झिंगेदाउ’को हंगामा, ‘झिंगेदाउ २’मा केकी–आँचलको झगडा

काठमाडौं : ओएसआर डिजिटलबाट शुक्रबार सार्वजनिक भएको सिनेमा‘झिंगेदाउ’ले युट्युबमा आक्रामक भ्यूज पाइरहेको छ । रिलिजको दुई दिन नबित्दै सिनेमाले २१ लाखभन्दा बढी भ्यूज पार गरेको छ ।

पहिलो भागले डिजिटलमा तहल्का मच्चाइरहेका बेला यसको सिक्वेल ‘झिंगेदाउ २’को तीज लक्षित शीर्ष गीतको छायांकन गरिएको छ । गीतमा केकी अधिकारी र आँचल शर्मा रातो सारीमा छमछमी नाचेका छन् । रोचक पक्ष के भने गीतमा उनीहरू जेठानी–देउरानीको भूमिकामा झगडा गर्दै गरेको देखिनेछन् ।

बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ । रामजी लामिछानेले कोरियोग्राफी गरेको गीत भदौ १० गते सार्वजनिक हुनेछ ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा तयार भएको ‘झिंगेदाउ २’ असोज २ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमामा केकी र आँचलसँगै आर्यन सिग्देल, महेश त्रिपाठी, सरोज खनाललगायत कलाकारको अभिनय छ । सिनेमाको टिजरले यसअघि नै दर्शकमाझ उत्सुकता जगाइसकेको छ ।