Sur Cinema

‘मन विनाको धन २’मा विपिन, कस्तो होला पूजासँग पहिलो सहकार्य ?

काठमाडौं : अभिनेता विपिन कार्की सिनेमा ‘मन विनाको धन २’मा अनुबन्धित भएका छन्। उनको प्रवेशसँगै सिनेमाको कलाकार टोली थप बलियो बनेको छ। निर्माण पक्षले भने उनले निभाउने भूमिकाबारे हालसम्म खुलाएको छैन।

टंक बुढाथोकीको कथा तथा निर्देशन तथा शिवम् अधिकारीको लेखन रहेको सिनेमा अहिले प्रि-प्रोडक्सन चरणमा छ। यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र किरण केसी कलाकारका रूपमा अनुबन्धित भइसकेका छन्।

यस सिनेमामार्फत पूजा शर्मा र विपिन कार्की पहिलो पटक एकसाथ पर्दामा देखिन लागेका हुन्। निर्देशक बुढाथोकीका अनुसार विपिन कथाबाट प्रभावित भएर सिनेमामा आबद्ध भएका हुन् र दर्शकले उनलाई नयाँ अवतारमा देख्न पाउनेछन्।

गत वर्ष प्रदर्शनमा आएको ‘मन विनाको धन’ ले करिब ४ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको थियो। पहिलो श्रृंखलाको सफलतापछि निर्माण टोलीले दोस्रो भागलाई अझ सशक्त बनाउने तयारी गरेको जनाएको छ।