काठमाडौं : मोडलिङबाट पहिचान बनाएका बरुण अधिकारी अब सिनेमा ‘तरङ्ग’ मार्फत ठूलो पर्दामा डेब्यू गर्न लागेका छन्। अभिनेता प्रदीपकुमार चौधरीको डेब्यू निर्देशनमा बन्न लागिरहेको यो सिनेमा ‘सुपरन्याचुरल लभस्टोरी’ जनरामा तयार हुनेछ।
एक दर्जनभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरिसकेका बरुण पहिलोपटक फीचर सिनेमामा देखिन पाउने अवसरले उत्साहित छन्। कथावस्तु, भूमिकाको गम्भीरता र निर्देशकको विश्वासले आफू ‘तरङ्ग’ मा जोडिएको उनले बताए।
मनोरम प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको सिनेमाको निर्माता सुजन राई र तर्कराज जोशी हुन्। छायांकन इटहरी, धरान, बेलबारी, चतरा, चितवन, बुटवल, पोखरा र भेडेटारलगायत स्थानमा हुँदैछ। हाल बेलबारीमा छायांकन जारी छ।
करिब २ करोड बजेटको यस सिनेमामा बरुणसँगै रविना केसी, बारत लिम्बु, कृष्ण थापा, सारा राई, उजल राई र उत्तम गुरुङले अभिनय गर्नेछन्। महेश पौडेल छायाकार र रिजन परियार निर्माण नियन्त्रकका रूपमा रहेका छन्। निर्देशक चौधरी खलनायकका विभिन्न भूमिकाबाट परिचित छन्। ‘तरङ्ग’ लाई २०२६ भित्र प्रदर्शनमा ल्याइने निर्माण पक्षले जनाएको छ।















