काठमाडौं : सिनेमा ‘परान’ आज (कार्तिक १४) बाट देशभर प्रदर्शनमा आएको छ । नीर शाहको केन्द्रीय भूमिकामा बनेको यो भावनात्मक पारिवारिक सिनेमाले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ। काठमाडौंमा भएको ग्राण्ड प्रिमियरमा उपस्थित कलाकार र दर्शक धेरै भावुक बनेका थिए।
वरिष्ठ अभिनेता हरिवंश आचार्यले निर्देशक दीपक आचार्यको डेब्यु सिनेमा ‘परान’लाई उत्कृष्ट भन्दै यसले हरेक परिवारको कथा बोलेको बताए । निर्देशक सुयोग गुरुङसहित अन्य सेलिब्रिटीहरूले पनि सिनेमाप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन्।
सिनेमाले एक बाबुको कथा प्रस्तुत गर्छ, जसले सन्तानसँग नजिक रहन चाहन्छन् तर परिस्थितिले त्यो सम्भव हुँदैन। यसै भावनात्मक संघर्षलाई हृदयस्पर्शी रूपमा चित्रण गरिएको छ।
सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, अन्जना बराईली, केकी अधिकारी महेश त्रिपाठी, प्रवीण खतिवडा, बुद्धि तामाङ लगायत कलाकारको अभिनय रहेको छ। गीतमा दीपक आचार्यका शब्द र रिदम कँडेलको संगीत छ भने प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालको स्वर रहेको छ।















