Sur Cinema

‘परान’ मैले खोजी खोजी हेर्ने सिनेमा भित्र पर्छ : अञ्जना बराईली

काठमाडौं : नेपाली पारिवारिक सिनेमा ‘परान’ यहि कार्तिक १४ गते देशभर रिलिज हुँदैछ। यो सिनेमामा वरिष्ठ अभिनेता नीर शाह मुख्य भूमिकामा छन्। सिनेमाले बाबु र छोराबीचको भावनात्मक सम्बन्धको कथा प्रस्तुत गर्छ।

सिनेमामा अभिनेत्री अञ्जना बराईलीको पनि भूमिका रहेको छ। यद्यपि मुख्य भूमिका नभए पनि उनले यो सिनेमामा अभिनय गर्नुको कारण सिनको संख्या नभई कथा भएको बताउँछिन्। उनले भनिन्, “यो सिनेमा मैले खोजीखोजी हेर्ने सिनेमामध्ये पर्छ। त्यसैले म यसमा जोडिएको हुँ।”

सिनेमामा उनले निभाएको ‘रूपा’ नामक पात्र दर्शकको मनमा बस्ने खालको भएको बताइन्। शीर्ष भूमिकामा नीर शाह भए पनि त्यसपछि आफ्नो पात्र दर्शकलाई याद रहने विश्वास उनले व्यक्त गरिन्।

सिनेमामा नव–निर्देशक दीपकप्रसाद आचार्य (काकु)ले निर्देशन गरेका हुन् । कथा पनि उनकै हो भने पटकथा र संवाद यम थापाले लेखेका हुन्। गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा बनेको यस सिनेमामा नीर शाह, अञ्जना बराईली, महेश शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।