Sur Cinema

‘हरिबहादुरको जुत्ता’को ट्रेलर : कमेडी सङ्गै समसामयिक राजनीतिक विषयवस्तु प्रस्तुत

काठमाडौं : दिपेन्द्र के खनालको निर्देशनमा तयार भएको सिनेमा ‘हरिबहादुरको जुत्ता’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले कमेडी भाव प्रस्तुत गर्दै, अहिलेको समसामयिक राजनीतिक विषयलाई समेत समेटेको छ। हरिवंश आचार्य सिनेमामा हरिबहादुर पात्रमा प्रस्तुत भएका छन्।

नेपाली टेलिभिजन पर्दामा सर्वाधिक सफल मानिएको यो पात्रको जीवनमा आउने उतारचढावलाई सिनेमाको ट्रेलरमा समावेश गरिएको छ । त्यससँगै युवापुस्ताले खोजेको राजनीतिक परिवर्तन र त्यसबीचमा उत्पन्न हुने परिस्थितिलाई पनि ट्रेलरमा देखाइएको छ।

सिनेमामा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाललगायतका कलाकारको अभिनय रहेको छ। सिनेमा दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउनेछ।

एसएम मोशन पिक्चर्सको ब्यानरमा निर्माण भएको सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन्। कृष्ण बहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् । बसन्त सापकोटा, दिपक शर्मा र प्रकाश सपुतको संगीत रहेको सिनेमामा आशिष अविरल, समीक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर समावेश गरिएको छ।