काठमाडौं : रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको सिनेमा ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’को गीत ‘थाक खोला’ सार्वजनिक भएको छ । निर्माण टिमले सोमबार बाँसुरी फिल्मस्को अफिसियल युट्युबमार्फत गीत सार्वजनिक गरेको हो ।
कालीप्रसाद बास्कोटाको स्वर, शब्द र संगीत रहेको गीतमा रिकेश गुरुङ किजको संगीत संयोजन, गिटारवादन तथा मिक्सिङ–मास्टरिङ छ । गीतमा हेमन्त कान्छा रसाइलीको सारंगी र कृष्ण लिम्बूको बेस गिटार सुन्न सकिन्छ । भिडियोमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् ।
भिडियोमा दयाहाङको मिरुना, सिर्जना र रिश्मासँगको प्रेम, नोकझोक र सम्बन्धका रमाइला तथा भावनात्मक पाटोलाई कथामार्फत प्रस्तुत गरिएको छ । थाक खोला, सेताम्य हिमाल र हरियाली डाँडापाखाका मनमोहक दृश्यले भिडियोमा थप आकर्षण थपेका छन् । छुट्टै नृत्यभन्दा सिनेमाकै कथाशैलीलाई निरन्तरता दिँदै पात्रहरूको सम्बन्ध र भावनालाई गीतमा प्राथमिकता दिइएको छ ।


















