काठमाडौं : एक्सन, थ्रिलर तथा सस्पेन्स जनरामा निर्माण भएको सिनेमा ‘कालमाण्डू’ आगामी पुस २४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले सिनेमाको ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो ।
सम्राट न्यौपानेको स्वर तथा संगीत र रमेश देवकोटाको शब्द रहेको गीतको भिडियोमा अनिलराज पौडेल र रोशनी कार्की राधा–कृष्णको भूमिकामा देखिएका छन् । पुनम श्रेष्ठको कोरियोग्राफी रहेको भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।
अपराध, रहस्य, अपहरण, मानव तस्करी र हत्याको कथालाई केन्द्रमा राखिएको सिनेमामा प्रेमको भावनालाई समेत समेटिएको छ । निर्देशक सयनम अधिकारीका अनुसार १९ वर्षीया बहिनी हराएपछि उनको खोजीमा निस्किएको एक दाजु अपराधको अँध्यारो संसारमा फस्दै जाँदा आइपर्ने संघर्ष सिनेमाको मुख्य कथा हो ।

मुभी ल्यान्ड नेपालको ब्यानरमा कमल थिङले निर्माण गरेको सिनेमामा गजित बिष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बास्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारीलगायत कलाकारको अभिनय छ ।

















