काठमाडौं : अभिनेत्री नीति शाह नेपाल टेलिकमको फिल्म तथा मनोरञ्जन क्षेत्रतर्फको ब्रान्ड एम्बेसडर नियुक्त भएकी छन्। नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले उनलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको हो।
नेपाली फिल्म तथा मनोरञ्जन क्षेत्रमा सक्रिय नीति अब नेपाल टेलिकमका विभिन्न सेवा तथा अभियानको प्रवर्द्धनमा जोडिनेछिन्। नेपाली कलाकारलाई सरकारी संस्थाको ब्रान्ड प्रतिनिधिका रूपमा अघि सारिनुलाई नेपाली कला र मनोरञ्जन क्षेत्रका लागि सकारात्मक कदमका रूपमा हेरिएको छ।
नेपाल टेलिकमले आफ्ना मौलिक नेपाली सेवा तथा उत्पादनको प्रवर्द्धनमा नेपाली कलाकार र प्रतिभालाई प्राथमिकता दिनुले स्वदेशी ब्रान्ड र कलाकारबीचको सम्बन्ध थप बलियो हुने अपेक्षा गरिएको छ। लोकप्रिय कलाकारको उपस्थितिले नेपाली ब्रान्डलाई नयाँ पुस्तामाझ पुर्याउनसमेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास गर्न सकिन्छ।

नीति शाहको नियुक्ति एउटा कलाकारको ब्रान्ड एम्बेसडर बन्ने अवसरमा मात्र सीमित छैन। यसलाई नेपाली कलाकारको बढ्दो व्यावसायिक प्रभाव र उनीहरूमाथि सरकारी तथा संस्थागत क्षेत्रको विश्वास बढ्दै गएको संकेतका रूपमा पनि लिन सकिन्छ।
नेपाली कलाकारले नेपाली ब्रान्डलाई प्रतिनिधित्व गर्ने र स्वदेशी उत्पादन तथा सेवाको प्रचार–प्रसारमा आफ्नै अनुहार र प्रतिभाको प्रयोग हुने अभ्यासले ‘नेपाली ब्रान्ड, नेपाली कलाकार र नेपाली पहिचान’लाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

















