काठमाडौं : निर्देशक नारायण प्रधानको निर्देशनमा निर्माण हुने छोटो सिनेमा ‘सगुन’को औपचारिक घोषणा गरिएको छ । सामाजिक यथार्थमा आधारित यस सिनेमामा अभिनेत्री अस्मिता खनाल मुख्य भूमिकामा रहनेछिन् भने अन्य कलाकारको नाम चाँडै सार्वजनिक गरिने निर्माण टिमले जनाएको छ।
सिनेमाले परिवार र वैवाहिक सम्बन्धको दबाबबीच आफ्नो स्वतन्त्रताको खोजीमा संघर्षरत एक युवतीको मार्मिक कथा प्रस्तुत गर्नेछ। आर्थिक अभावका बीच चिया बेचेर जीवनयापन गर्ने उनको संघर्ष, आत्मनिर्भरता र साहसलाई कथामा समेटिएको छ।
निर्माण टिमका अनुसार ‘सगुन’ले लैङ्गिक असमानता, पारिवारिक दबाब र महिलाको स्वतन्त्रताको विषयलाई गहिराइका साथ उठाउनेछ। सिनेमाको छायांकन छिट्टै सुरु हुने बताइएको छ।
सिनेमामा रोशन महर्जन डीओपी र बिक्रम सिग्देल सम्पादक रहेका छन्। सामाजिक सन्देश बोकेको ‘सगुन’ दर्शकमाझ प्रभावशाली रूपमा प्रस्तुत हुने अपेक्षा गरिएको छ।

















