काठमाडौं : आगामी वैशाख ११ गते प्रदर्शनमा आउने सिनेमा ‘परालको आगो’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ। अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सार्वजनिक गरिएको उक्त पोस्टर सम्पूर्ण नारीहरूलाई समर्पित गरिएको निर्माण टिमले जनाएको छ।
पोस्टरमा सुनौलो घामले उज्यालिएको खेतबारीको बीचमा डोकोमा अडेस लगाएर बसेकी अभिनेत्री सुहाना थापाको भावपूर्ण मुद्रा देखाइएको छ। ग्रामीण परिवेश, परम्परागत डोको र पहाडी पृष्ठभूमिले नेपाली गाउँघरको मौलिकता झल्काउँदै नारीको संवेदना, संघर्ष र सौन्दर्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।
ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्रका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई केन्द्रमा राखेर निर्माण गरिएको सिनेमामा सुहाना थापा, सौगात मल्ल र प्रकाश सपुत मुख्य भूमिकामा छन्।
लक्ष्मण सुनारको निर्देशनमा बनेको यो सिनेमा हरि ॐ सिने मेकर्सको ब्यानरमा निर्माण भएको हो। सिनेमाका निर्माता सुशील पोखरेल हुन् भने लेखन सुशील देवकोटाले गरेका छन्। सिनेमाको छायांकन संकल्प भुजेलले गरेका छन्।
सिनेमामा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मञ्जिला बानियाँको पनि अभिनय रहेको छ।
सिनेमाको वितरण आरआर फिल्म्सले गर्नेछ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ।















