काठमाडौं : दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘माइतीघर’ को आधिकारिक ट्रेलर सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक भएको ट्रेलरमा कमेडी, प्रेम, विछोड र सांस्कृतिक द्वन्द्वलाई रोचक ढंगले प्रस्तुत गरिएको छ।
पारिवारिक कथावस्तुमा आधारित यो सिनेमाको ट्रेलर निकै शक्तिशाली देखिएको छ। मिलन तामाङको निर्देशन रहेको यस सिनेमामा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, प्रकाश सपुत, वुद्धि तामाङ, शिशिर वाङ्देल र केदार प्रसाद घिमिरे (माग्ने बूढा) जस्ता चर्चित कलाकारहरूको अभिनय रहेको छ। ट्रेलरमा केदार घिमिरेको कमेडी पक्ष निकै सशक्त देखिन्छ। यसका साथै, सिनेमाले तामाङ संस्कृतिको कथालाई पनि प्राथमिकता दिएको छ।
रोहित अधिकारी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमाको लगानीमा रविन शेरचन र धिरज तामाङ छन्, भने ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता हुन्। सिनेमाको लेखन रामशरण पाठकले गरेका हुन् भने डीओपी सुशन प्रजापतिको रहेको छ। सुरेन्द्र पौडेलले सम्पादन गरेका छन्।
दशैंको समयमा पारिवारिक कथावस्तु भएका सिनेमाहरूले दर्शकको मन जित्ने भएकाले पनि ‘माइतीघर’ लाई धेरैले प्रतीक्षा गरेका छन्। सिनेमाको शीर्ष गीतले पनि दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाइसकेको छ।
यस सिनेमामा स्व. जयदेवको संगीत रहेको छ भने कोरियोग्राफी कविराज गहतराज र किरण थापाको रहेको छ। ट्रेलर सम्पादन साहिल खानले गरेका हुन्।















