काठमाडौं : भाद्र २७ बाट प्रदर्शनको तयारीमा रहेको सिनेमा “अभिमन्यु च्याप्टर वान”को प्रचार प्रसार यतिबेला तिब्र रुपमा भैरहेको छ । हालसम्म सार्वजनिक सामग्रीहरू हेर्दा पर्दामा नयाँ र प्रभावशाली कन्टेन्ट हेर्न सकिने सहज अपेक्षा गर्न सकिन्छ ।ट्रेलर सार्वजनिक भएपछि त झन यो सिनेमा धेरैको नजरमा परेको छ, अझ त्यसमा पनि किशोर समूह र युवा दर्शकहरूको विशेष ध्यान तानिएको छ ।
त्यसैगरी, डेब्यू निर्देशकको सिनेमामा यस्तो स्तरको ट्रेलरलाई धेरैले उच्च प्रशंसा गरेका छन् । गत वर्ष जसरी नयाँ निर्देशकका सिनेमाहरू चलेर कमाउनेतर्फ सूचिकृत भए, यस सिनेमाले पनि त्यही सिलसिला पछ्याउने धेरैको अनुमान छ । त्यसैले, निर्देशक शुशान्त गौतमको कथावाचन ट्रेलरमै देखिएझैँ भएमा, यस फिल्मले यो जनरामा नयाँ मानक स्थापित गर्नेछ।
साँच्चै भन्नुपर्दा, उनले दर्शकलाई पुरानो ढर्राबाट निकालेर नयाँ स्वाद दिने र अन्डररेटेड कलाकारलाई मुख्यधारमा ल्याउने सम्भावना यस सिनेमाबाट प्रबल देखाएका छन् । नेपाली सिने जगतमा पछिल्लो एक वर्षमा आएका सिनेमाहरूमा प्रायः दर्शकहरू हलमा गएका थिए, रोएर आँसु पुछ्दै बाहिरिने दृश्यहरू नै सामाजिक सञ्जालमा छ्यापछ्याप्ती देखिएका छन् । दर्शकहरूलाई सधैं उस्तै सिनेमाहरूले कति सम्म र कहिलेसम्म बाँध्न सक्लान् र ? अझ सरल रूपमा भन्नुपर्दा, लगातार एउटै परिकार कति समयसम्म बेजोड स्वाद भन्दै खाइराख्न सकिएला र ?
यही एकोहोरो शैलीको चक्र तोड्ने बाटोमा गत वर्ष दर्शकका आँखाबाट अनायासै आँसु झार्न सफल ‘पूर्णबहादुरको सारंगी’ का मेकर बिनोद पौडेल अघि बढेका छन् । यी मेकरको नयाँ सिनेमा “अभिमन्यु च्याप्टर वान” का ट्रेलर, टिजर र गीतहरूले त्यही संकेत गरेका छन्। यो सिनेमाको विशेषता भनेकै यसको अन्डररेटेड तर बुलन्द अभिनय क्षमताका कलाकारहरूको लर्को हो।
उनीहरूको उपस्थितिले यो सस्पेन्स थ्रिलरले गज्जबको मनोरञ्जन दिने उच्च सम्भावना छ। कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी वर्देवा, गौमाया गुरुङ र शिशिर वाङ्देलले कस्तो अभिनय गर्नेछन् भन्नेमा अतिरिक्त व्याख्याको आवश्यकता छैन। यस्तै प्रकाश दाहाल पनि यो सिनेमाका विशेष रूपमा हेर्नुपर्ने कलाकार हुन्।
भाद्र २७ गतेदेखि विश्वव्यापी रूपमा प्रदर्शनमा आउने सिनेमाको हिन्दी संस्करण असोज ६ गतेदेखि रिलिज हुँदैछ।आशा गरौँ, हाल नेपाली मेकरहरूले भिडभाड बनाएर हिँडिरहेको बाटो छोडी फरक बाटो समातेको यस सिनेमाले आफूले देखाएको सम्भावना सुखद अवतरण गर्नेछ ।















