Sur Cinema

‘माग्ने राजा’को प्रचार तिब्र, कलेज पुगेर दर्शकलाई निम्तो

काठमाडौं । आगामी शुक्रबार, भदौ ६ गते बाट प्रदर्शनमा आउने सिनेमा ‘माग्ने राजा’ को निर्माण टिम यतिवेला व्यापक प्रचारमा जुटेको छ। रिलिज मिति नजिकिएसँगै टिमले काठमाडौंका विभिन्न कलेज र कार्यक्रमहरूमा पुगेर दर्शकलाई सिनेमा हेर्न आग्रह गरिरहेको छ।

यसै क्रममा, आज मंगलबार सिनेमाका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढा) र निर्देशक ऋषि लामिछाने चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेका थिए। त्यहाँ उनीहरूले विद्यार्थीहरूसँग भेटघाट गर्दै सिनेमाको गीत ‘म त सुतेर उठेको पैसामा’ मा नृत्य पनि गरे।

सिनेमा ‘माग्ने राजा’ लाई सेन्सर बोर्डले युनिभर्सल सर्टिफिकेट दिएको छ, जसको अर्थ यो सिनेमा सबै उमेर समूहका दर्शकका लागि उपयुक्त छ। आजबाट यो सिनेमाको अग्रिम टिकट बुकिङ पनि खुल्ला गरिएको छ। निर्माण टिमले बुधबार साँझसम्म देशभरका अधिकांश हलमा बुकिङ खुल्ला हुने अपेक्षा राखेको छ।

ऋषि लामिछाने निर्देशित र मुनाल घिमिरेले निर्माण गरेको यस सिनेमामा केदार घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय रहेको छ। सिनेमामा अभिनेता आर्यन सिग्देल को पनि विशेष भूमिका रहेको छ।