Sur Cinema

‘राम नाम सत्य’ को फर्स्टलुक : एक्सन अवतारमा बिराज, चैत २७ मा प्रदर्शन हुँदै

काठमाडौं। निर्देशक माइकल चन्दको नयाँ सिनेमा ‘राम नाम सत्य’ को औपचारिक शुभमुहूर्तसँगै फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा पुजाआजा गरेर सिनेमाको मुहूर्त गरिएको हो। यसै अवसरमा सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिएको छ।

सिनेमा आगामी चैत २७ गते देखि प्रदर्शनमा आउनेछ। सार्वजनिक गरिएको पोस्टरमा मुख्य अभिनेता विराज भट्ट एक्सन अवतारमा देखिएका छन्। उनको हात र सर्टमा रगत लागेको छ र उनी चुरोट पिइरहेका छन्। उनको वरिपरि केही मानिसहरू अचेत अवस्थामा लडिरहेका छन्, जसले सिनेमाको कथावस्तु एक्सन प्रधान रहेको संकेत गरेको छ।

विराज भट्टको यो लुक्सले दर्शकमा सिनेमाप्रति थप उत्सुकता जगाएको छ। निर्माण टिमका अनुसार, सिनेमामा एक्सन, सस्पेन्स र प्रेमको मिश्रण हुनेछ। माइकल इन्टरटेन्मेन्ट हाउस को ब्यानरमा बन्न लागेको यो सिनेमाको छायांकन काठमाडौं र चितवन लगायतका स्थानमा गरिनेछ।

सिनेमामा विराज भट्ट सँगै सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी र रवि गिरी लगायतका कलाकारहरूको अभिनय रहनेछ।

सिनेमाका निर्माताहरूमा उपेन्द्र शाही र स्वेता विमली छन्। यसमा संजय लामा को छायांकन र अर्जुन पोखरेल तथा बाबुल गिरी को संगीत रहनेछ।