Sur Cinema

निर्देशक माइकल चन्दको सिनेमा ‘राम नाम सत्य’ को गरियो शुभमुहूर्त

काठमाडौं : निर्देशक माइकल चन्दको नयाँ सिनेमा ‘राम नाम सत्य’ को औपचारिक शुभमुहूर्त गरिएको छ। बिहीबार ललितपुरको बंगलामुखी मन्दिरमा पुजाआजा गर्दै सिनेमाको मुहूर्त गरिएको हो।

शुभमुहूर्त कार्यक्रममा सिनेमाका मुख्य कलाकारहरू बिराज भट्ट, दिव्य रायमाझी र सुपुष्पा भट्ट लगायतको उपस्थिति थियो। यसैगरी, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले पनि कार्यक्रममा सहभागी भई सिनेमा टिमलाई शुभकामना दिएका थिए। उसो त सिनेमामा उनको पनि अभिनय रहनेछ।

निर्माण टिमका अनुसार, सिनेमाको कथावस्तुमा एक्शन, सस्पेन्स र प्रेमकथाको मिश्रण हुनेछ। माइकल इन्टरटेन्मेन्ट हाउसको ब्यानरमा निर्माण हुन लागेको यो सिनेमाको छायांकन काठमाडौं र चितवन लगायतका स्थानमा गरिनेछ।

सिनेमामा विराज भट्ट, सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डिसी र रवि गिरी लगायतका कलाकारहरूको अभिनय रहनेछ।

उपेन्द्र शाही र स्वेता विमली निर्माता रहेको यस सिनेमामा संजय लामा को छायांकन तथा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहनेछ।