Sur Cinema

‘जारी २’ : पोस्टर रिलिजसँगै प्रदर्शन मिति घोषणा, असोज ३ मा आउँदै

काठमाडौं । बहुप्रतिक्षित नेपाली सिनेमा ‘जारी २’ को प्रदर्शन मिति सार्वजनिक भएको छ। सिनेमाको आकर्षक पोस्टरहरू रिलिज गर्दै निर्माण टिमले सिनेमा आगामी असोज ३ गते (सेप्टेम्बर १९) बाट देशभर प्रदर्शन हुने घोषणा गरेको हो।

सार्वजनिक भएका तीन फरक पोस्टरहरूमा सिनेमाका मुख्य कलाकारहरूलाई फरक-फरक भावमा प्रस्तुत गरिएको छ। एउटा पोस्टरमा नायक दयाहाङ राई र नायिका मिरुना मगरलाई परम्परागत पहिरनमा देखाइएको छ, जसले उनीहरूको प्रेमिल र आत्मीय सम्बन्धको झलक दिन्छ।

अर्को पोस्टरमा दयाहाङ राईले परम्परागत लिम्बू बाजा ‘च्याब्रुङ’ बोकेको र मिरुना मगरले मुस्कुराएको दृश्यले सिनेमाको सांस्कृतिक पृष्ठभूमिलाई स्पष्ट पार्छ। यसैले गर्दा सिनेमाको उपशीर्षक ‘सङ अफ च्याब्रुङ’ राखिएको छ।

तेस्रो पोस्टरमा भने सिनेमाका अन्य कलाकारहरू विजय बराल र बुद्धि तामाङसहितको टोलीलाई देखाइएको छ, जसले सिनेमाको कथावस्तु अझ विस्तृत र बहुआयामिक रहेको संकेत गर्छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको यो सिनेमा बासुरी फिल्म्सको ब्यानरमा निर्माण भएको हो। सिनेमाका निर्माताहरूमा राम बाबु गुरुङ, मधु मिजार र जीबन गुरुङ रहेका छन्।

पहिलो भाग ‘जारी’ले दर्शकहरूबाट पाएको अपार मायाका कारण यसको दोस्रो भागप्रति दर्शकको चासो निकै बढेको छ। लिम्बू समुदायको जीवनशैली, संस्कृति र सम्बन्धमा आधारित यस सिनेमाले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा दर्शकमाझ यस सिनेमाप्रति उत्साह थप बढेको छ।