Sur Cinema

‘जिरो डिग्री’मा विजय बराल, कस्तो होला भुमिका ?

काठमाडौं : निर्देशकद्वय सजन काफ्ले र आकास बरालले नयाँ सिनेमा ‘जिरो डिग्री’ बनाउने भएका छन्। उनीहरूले आफ्नो अघिल्लो सफल सिनेमा ‘बेहुली फ्रम मेघौली’ को सफलतापछि मेघौली फिल्म्सको ब्यानरमा यो घोषणा गरेका हुन्। यसको मिनिमल पोस्टर सोमबार सार्वजनिक गरिएको थियो।

सिनेमाको कथा राजन भुसालले लेखेका हुन् भने पटकथा र संवाद निर्देशकद्वयले तयार पारेका छन्। यो सिनेमाको कथा सडक नपुगेको गाउँमा आफ्ना मातापिताको निधन हुँदा विदेशमा रहेका छोराछोरी नपुगुन्जेलसम्म शवलाई सुरक्षित राख्न डीप फ्रिज बोकेर गाउँमा लैजाँदा सिर्जना हुने परिस्थितिमा आधारित छ।

निर्देशकका अनुसार, यो केवल एउटा फ्रिज गाउँ पुर्याउने कुरा मात्र नभएर एक ‘लाइट कमेडी’ कथा पनि हो। यसमा अभिनेता विजय बराल मुख्य भूमिकामा देखिनेछन्।

ट्राइडेन्ट कन्सेप्टका रोयल भीमसेनले डिजाइन गरेको पोस्टरमा बीचमा एउटा डीप फ्रिज छ, जसलाई केही मानिसहरूले खोला तारिरहेका छन्। सिनेमाको पोस्टरमा कलाकारको अनुहार वा ठूलो दृश्य राख्ने प्रचलनलाई तोड्दै कथाको मुख्य वस्तुलाई केन्द्रमा राखिएको छ।

मोती कार्की कार्यकारी निर्माता रहेको यो सिनेमाको छायाङ्कन तिहारपछि सुरु हुनेछ। आगामी वर्ष प्रदर्शन गर्ने लक्ष्य राखिएको यसको वितरण कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछ।

सिनेमाका गीतमा अङ्कित बाबु अधिकारीको सङ्गीत रहनेछ भने युवराज काफ्लेले गीत लेख्नेछन्, जसले ‘ऊनको स्वीटर’को चर्चित गीत ‘काफ्ले’ पनि लेखेका थिए।