काठमाडौं : अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङ स्टारर बहुप्रतिक्षित सिनेमा ‘जेरी अन टप’को टिजर सार्वजनिक भएको छ। असोज ३१ गते प्रदर्शनमा आउने यो सिनेमाको टिजर अनन्या फिल्मस्ले सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरेको हो।
टिजर लन्च कार्यक्रममा सिनेमाका प्रमुख कलाकारहरू अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङसँगै हास्य कलाकार केदार घिमिरे ‘माग्नेबुढा’, भुवन केसी र उषा खड्गीको उपस्थिति थियो। निर्देशक सुयोग गुरुङले सम्पूर्ण टिमको अथक मेहनतको नतिजा दर्शकसामु ल्याउन लागेको बताउँदै सबैको साथको अपेक्षा राखे।
सार्वजनिक १ मिनेट ५२ सेकेन्ड लामो टिजरले सिनेमाको कथावस्तुमाथि प्रकाश पार्ने प्रयास गरेको देखिन्छ। सुयोग गुरुङ निर्देशित यस सिनेमाको कथा सगरमाथा आरोहण र सो यात्राको क्रममा हुने प्रेमकथामा केन्द्रित छ। कथा हेमराज बिसीले लेखेका हुन्।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार भएको ‘जेरी अन टप’मा न्यौपानेसँगै रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले लगानी गरेका छन्। सिनेमाको कार्यकारी निर्मातामा अनुराधा गिरी र इश्वर श्रेष्ठ रहेका छन् भने एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन्।
‘जेरी अन टप’मा संगीतकार कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत सुन्न सकिन्छ। विस्वास तिम्सिनाले पटकथा लेखेका छन् भने दुलिप रेग्मीले छायांकन गरेका हुन्।
हङकङको एलजी एसोसिएट्सले यस सिनेमाको (अष्ट्रेलियाबाहेक) अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ। नेपालमा भने रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण अधिकार लिएका छन्। महँगो लागतमा बनेको यो सिनेमालाई यस वर्षको बहुप्रतिक्षित सिनेमा मानिएको छ।















