Sur Cinema

टिकटकबाट सिने पर्दासम्म: मिस पविको संघर्ष, सफलता र सन्तुष्टिको कथा

काठमाडौं : भन्नेले त टिकटकलाई समय बर्बाद गर्ने माध्यम पनि भन्ने गर्छन्। उसो त टिकटकको कुलतमा परेर समय मात्र होइन जीवन बर्बाद गर्नेहरू पनि हाम्रै वरपर छन्। तर यसको सही सदुपयोग गर्नेहरूले भने निकै राम्रो गरिरहेको उदाहरण प्रशस्तै छन्। ति मध्ये मिस पवि अर्थात् पवित्रा साँकी ज्वलन्त उदाहरण हुन्।

यतिबेला सामाजिक सञ्जालको शक्तिलाई प्रयोग गर्दै शून्यबाट उदाएका कलाकारहरूको सूचीमा मिस पवि एक चम्किलो नाम बनेकी छन्।

टिकटकमा मनोरञ्जनात्मक भिडियो बनाउँदै हजारौंको मन जितेकी उनले छोटो समयमै म्युजिक भिडियो र ठूलो पर्दासम्मको यात्रा तय गरेकी छन्। तर, यो सफलताको पछाडि संघर्ष, निरन्तरता र अटुट सन्तुष्टिको कथा लुकेको छ।

भाग्यले साथ दिएको कलाकारिताको यात्रा

पवित्राका लागि कलाकारिताको यात्रा कुनै पूर्वनिर्धारित योजना थिएन। गाउँमा हुर्केकी उनले आफू एक दिन कलाकार बन्छु र यो स्थानसम्म पुग्छु भनेर कहिल्यै सोचेकी पनि थिइनन्। यो यात्रामा उनलाई साथ दियो समयले र सामाजिक सञ्जाल ‘टिकटक’ले। “म आफूलाई यो क्षेत्रमा धेरै भाग्यमानी ठान्छु,” उनी भन्छिन्, “किनकि यति छोटो समयमा धेरैले मेरो कलाकारितालाई रुचाउनुभएको छ, र मलाई यो क्षेत्रमा एउटा कलाकारको रूपमा चिन्नुभएको छ।”

उनी आफ्नो स्थानबारे भन्दा पनि अझ धेरै मेहनत गरेर अरूभन्दा छुट्टै र फरक पहिचान बनाउन चाहन्छिन्। सडकमा हिँड्दा वा कुनै समारोहमा जाँदा मानिसहरूले ‘तपाईं त मिस पवि होइन? तपाईंको म्युजिक भिडियो, कमेडी दरबार र फिल्म हेर्छौँ’ भन्दा उनलाई निकै खुसी लाग्छ। यही माया र सम्मान नै अहिलेको सबैभन्दा ठूलो उपलब्धि भएको उनी बताउँछिन्।

संघर्ष र सन्तुष्टिको द्वन्द्व

कलाकारिताको यात्रालाई मिस पवि संघर्ष र सन्तुष्टिको एउटा सुन्दर मिश्रण मान्छिन्। उनी भन्छिन्, “पहिलो कुरा त यो क्षेत्रमा संघर्ष धेरै गर्नुपर्छ।” तर, जब गरेको मेहनतको राम्रो नतिजा आउँछ, दर्शकबाट प्रशंसा र माया पाइन्छ, त्योभन्दा ठूलो सन्तुष्टि कलाकारका लागि अरू केहीमा पनि मिल्दैन। त्यसैले, संघर्षलाई निरन्तर जारी राख्दै त्यसैबाट प्राप्त हुने नतिजामार्फत सन्तुष्टि लिने कला जान्नुपर्ने उनी सुझाउँछिन्।

अभिनयको परिभाषा र फरक चरित्रको चाहना

उनका अनुसार अभिनय भनेको सिनेमा, रङ्गमञ्च, टेलिभिजन वा रेडियोमा कुनै कथालाई अभिव्यक्त गर्नका लागि कुनै पात्रको भूमिका निभाउने कला हो। यसका लागि पर्याप्त परिकल्पना, नाटकीय भावना र बोलीमा पनि ध्यान दिनुपर्छ।

हरेक कलाकारले जस्तै उनको पनि एउटै चरित्रमा मात्रै सीमित नभएर फरक-फरक किसिमको भूमिका निभाउने चाहना छ। उनी भन्छिन्, “मलाई जुनसुकै चरित्र निभाउन मन लाग्छ, जुन युगौंसम्म मान्छेले याद राखून्।” उनको यो भनाइले उनी आफूलाई कुनै एक विधामा मात्रै सीमित गर्न नचाहेको प्रस्ट हुन्छ।

टिकटकले खोलिदिएको ढोका

पविले आफ्नो कला यात्राको श्रेय सामाजिक सञ्जाल टिकटकलाई दिन्छिन्। “सहि हिसाबले प्रयोग गर्दा टिकटक पनि कलाकारिता क्षेत्रमा प्रवेशका लागि ‘सञ्जीवनी’ बन्दो रहेछ,” उनी भन्छिन्। उनको कलाकारिताको ढोका सुनिल गिरीको ‘जुम्ला’ गीतले खोलिदियो। त्यो गीत हिट भएपछि उनले एकपछि अर्को राम्रो प्रोजेक्टमा काम गर्ने मौका पाइन्, जसमध्ये हिमाल सागरको ‘थाहै भएन’ गीतमा पल शाहसँग उनको जोडीलाई पनि दर्शकले निकै मन पराए।

यही सफलता र दर्शकको मायाले उनलाई यो क्षेत्रमा आफ्नो लागि पनि स्थान छ भन्ने विश्वास दियो। आज उनी आफूले कल्पना गरेको भन्दा धेरै माया, सम्मान र चिनारी पाएकी छन्, जसलाई उनी आफ्नो अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धि मान्छिन्।

सिनेमा समाज: राम्रो र नराम्रो पक्ष

पवि सिनेमा क्षेत्रलाई मनोरञ्जनको दुनियाँ मान्छिन्। उनका लागि यो क्षेत्र आफ्नो कला देखाउने र प्रतिभालाई अगाडि लैजाने राम्रो बाटो हो। कुनै पनि कलाकारका लागि शान्त, धैर्य, अनुशासित र कामप्रतिको निष्ठा नै मूल मन्त्र हो भन्ने उनी बताउँछिन्।

जसरी चन्द्रमामा पनि दाग हुन्छ, त्यसरी नै मान्छेले निर्माण गरेको यो सिनेमा समाजमा पनि केही दागहरू छन्। पवित्राको भनाइमा ती दागहरूबाट आफूलाई बचाएर निरन्तर अगाडि बढ्नु नै एक असल र सक्षम कलाकारको यात्रा हो।

छोटो समयमै सयौं म्युजिक भिडियो, सिनेमा हुँदै हाल उनी कमेडी शो ‘कमेडी दरबार’मा समेत आबद्ध छिन्। जसले उनको कलाकारितालाई झन् निखारपन दियो। नचिन्ने दर्शकहरूमाझ चिनायो र कलाकारितामा झन् अर्को इट्टा थपिदियो। त्यसैले पनि होला उनले ‘कमेडी दरबार’लाई अभिनय सिक्ने थलोको रुपमा लिएकी छिन्।

उसो त उनी पछिल्लो समत सिनेमामा समेत आफ्नो पकट जमाउँदै आएकी छिन्। उनी अभिनित पछिल्लो सिनेमा हो ‘माग्ने राजा’। जुन सिनेमा यतिबेला सिनेमाहलहरुमा चलिरहेको छ। यो सिनेमामा उनको कामको भन्दा पनि विवादको कुराले चर्चा पायो।

‘माग्ने राजा’ सिनेमाबाट बाहिरिएको कुराले उनलाई खिन्न बनायो। तथापि सिनेमाका निर्देशक ऋषि लामिछानेले भने निकालिएको कुरा अस्विकार गर्दै आइरहेका छन्। खासगरी उनी ‘माग्ने राजा’ विवादबारे धेरै बोल्न चाहन्नन्, किनकि यो विषयमा के सही र के गलत भन्ने कुरा दर्शकले मिडियामार्फत थाहा पाइसकेको उनको भनाइ छ।

संघर्षदेखि सन्तुष्टिसम्मको प्रेरणादायी यात्रा

समग्रमा पविको संघर्षलाई नियाल्दा यो स्पष्ट हुन्छ कि सफलताको कुनै सिधा बाटो हुँदैन। सामाजिक सञ्जाललाई सही दिशामा प्रयोग गर्ने हो भने, त्यसले कसैको प्रतिभालाई नयाँ उचाइ दिन सक्छ। यो यात्रामा उनले संघर्षलाई सन्तुष्टिको आधार बनाइन्, र आज उनी नेपाली मनोरञ्जन क्षेत्रमा एउटा फरक र चम्किलो नाम बनेकी छन्।

उनको यो यात्रा हजारौं नवोदित कलाकारहरूको लागि प्रेरणाको स्रोत बनेको छ, जसले देखाउँछ कि यदि कामप्रतिको लगन र इमान्दारी छ भने, कुनै पनि माध्यमबाट सपनाको शिखरमा पुग्न सम्भव छ। उनको सफलताको कथाले हामी सबैलाई एउटै सन्देश दिन्छ: हरेक संघर्षपछि सन्तुष्टि र हरेक सपनापछि सफलताको उज्यालो आउँछ, बस त्यसका लागि निरन्तर मेहनत र दृढ विश्वास चाहिन्छ।