Sur Cinema

चर्चामा कोशोढुङ्गा’को गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’

काठमाडौं : सिनेमा ‘कोशोढुङ्गा’को डान्सिङ नम्बरको गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ लोकप्रिय भएको हो । तीजको यो गीतमा ठूलो संख्यामा टिकटक भिडियो बनेका छन् भने युट्युबमा १२ लाखभन्दा धेरै दर्शकले गीत हेरिसकेका छन् ।

गीतमा नेत्र अर्यालको शब्द छ भने हुकलाइन खेम सेन्चुरीको छ । संगीत खेम सेन्चुरीले नै गरेका छन् । गीतमा स्वर खेम सेन्चुरीसँगै समीक्षा अधिकारी र दिपिका बयम्बु मगरको छ ।गीत तीजको सेटअपमा छ । सिनेमाभित्र रहेको यो गीतले विवाहित र अविवाहितबीचको अन्तरबारे प्रष्ट पारेको छ । विवाहित हुँदाको राम्रो पक्ष र अविवाहितहरूले जीवनसाथी हुँदाको परिकल्पना र हुने उत्सुकता गीतमा समेटिएको छ ।

गीतको भिडियोमा सिनेमाका मुख्य कलाकारहरू सुरक्षा पन्त र नीति शाहले अविवाहितको पक्षबाट आफ्नो परिकल्पना र उत्सुकता राखेका छन् । विवाहित हुँदाको प्रेम ऋचा शर्माले व्यक्त गरेकी छन् । निर्माणपक्षले यो गीतमा टिकटक प्रतिस्पर्धा समेत घोषणा गरेको थियो ।

गीत रिलिज भएको दिनदेखि खुल्ला गरिएको प्रतिस्पर्धा अगस्ट २० सम्म सहभागीले भाग लिन पाउनेछन् । टिमका अनुसार सहभागीले भाग लिदाँ ह्यास्ट्याग ‘नत्र भने जिन्दगी व्यर्थ छ’ मेन्सन गर्नु पर्ने छ । यसमा बेस्ट पफमेन्सले ३० हजार, मोस्ट क्रियटिभ भिडियोले २० हजार र मोस्ट लाइक भिडियोले १० हजार पाउने छन् ।

सरोज पौडेलले निर्देशन गरेको सिनेमा ‘कोशेढुङ्गा’ भदौ १२ गते रिलिज हुँदै छ । नरदेवी फिल्मसको प्रस्तुति र सारंगी फिल्मस्को सहकार्य रहेको सिनेमामा अभिनेत्री सुरक्षा पन्त, आर्यन सिक्देल, ऋचा शर्मा, मन्जिल कुमार, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, हिउवाला गौतम, दिनेश काफ्ले, लोकमणि सापकोटालगायतको अभिनय रहेको छ ।

‘कोशेढुंगा’को कार्यकारी निर्मातामा दिनेश खड्का छन् । सिनेमाको निर्मातामा प्रेविल कँडेल र किशोर अनुराग छन् । बाबु श्रेष्ठले छायांकन गरेको यो सिनेमामा नहकुल खड्काको सम्पादन, आशिष अविरल र रिदम कँडेलको संगीत छ । यस सिनेमाको कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन् ।

सिनेमालाई प्याट्रिक सुवेदी र रमेश ढकालको सेभेन सिज इन्टरनेसनलले अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दैछ । यो सिनेमा डायस्पोरामा नेपाली सिनेमाकै इतिहासमा पहिलो पटक एकसाथ ४० देशमा प्रदर्शनमा आउने जनाएको छ ।