काठमाडौं : सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को गीत सार्वजनिक भएको छ । ‘म फूल हुँ कि काँडा’ बोलको गीत निर्माणपक्षले आज राजधानीमा एक कार्यक्रम आयोजना गर्दै सार्वजनिक गरेको हो । लेखु सहयात्रीको शब्द रचना रहेको गीतमा मनिषा पोखरेलको स्वर छ । संगीत लेखु सहयात्रीकै रहेको छ ।
गीतले आफूभित्र पनि प्रेमिल मन रहेको र माया गर्ने चाह रहेको बताएको छ । मन परेपछि जोवन सुम्पिन तयार रहेको भन्दै आफूलाई पनि मुटुमा सजाउन भनिएको गीतको भिडियोमा नाजिर हुसेनको नृत्य छ । महिलाको भेसमा रहेका उनको गज्जवको अदाह दिएका छन् । गेस्चर र पोस्चरमा पनि उनले मेहनत गरेका छन् । भिडियोमा सुशील सिटौलालाई पनि देख्न सकिन्छ ।
निर्माण टिमले सिनेमा रिलिज डेट पनि घोषणा गरेको छ । सिनेमा भदौ १३ गते रिलिज हुनेछ । समुन्द्र भट्टको निर्देशन रहेको सिनेमा लैंगिक अल्पसंख्यक पारालैंगिक पात्रको कथामा बनेको छ । सिनेमामा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् ।
नाजिरका साथ सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारी र संचारकर्मी निशा बजगाईँले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् । नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ ।सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम बाहिर गरिएको छ । सिनेमाको एडिट, कलर, मिक्सिङ, साउन्ड डिजाइनदेखि ब्याकग्राउन्ड म्युजिकसम्मको काम हलिउड शैलीमा बाहिरै गरिएको छ ।
सिनेमामा हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्युजिकको सम्पूर्ण काम मार्सेलो दी फ्रान्सिसीले गरेका छन् । यो सिनेमा नेपाली फिल्म प्रोडक्सन हाउस र हलिउड फिल्म प्रोड्क्सन हाउसको संयुक्त कोल्याबोरेसनमा बनेको हो । सिनेमामा आकाश बुढाथोकी र भि–भन्से जानुबोनको लगानी छ । सिनेमाको कार्यकारी निर्माता जेफ्री जे वेन र स्टिभ जोन्स्टन हुन् भने अनुपम श्रेष्ठ सिनेमाका सहयोगी निर्माता हुन् ।
आलोक शुक्लाले खिचेको सिनेमामा लेखु सहयात्रीको गीत रचना रहेको छ । यो सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर फिल्म मार्केटमा छनोट भएको थियो ।















