Sur Cinema

आफ्नै व्याण्ड स्थापना गरेर नेपाली दर्शक–श्रोतामाझ आउँदै विनय

काठमाडौं : साठीको दशकमा ‘जब तिमी एक्लै थियौं’ गीतबाट चर्चा कमाएका विनय के. टु अर्थात् विनय कार्कीले आफ्नै व्याण्ड स्थापना गरेर नेपाली दर्शक–श्रोतामाझ आउने घोषणा गरेका छन् ।

शनिबार, विनयले व्याण्ड परिचयात्मक भिडियो सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् । घोषणाअनुसार अब उनी ‘विनय कार्की एन्ड थुङ्गा’ व्याण्डमार्फत नेपाली संगीतप्रेमीहरूसँग जोडिने छन्।

डेढ दशकअघि उनले ‘द मिडल युनिट’ व्याण्डमार्फत नै आफ्नो सांगीतिक यात्रा सुरु गरेका थिए। व्याण्डसँग काम गर्दा आफूलाई बढी सन्तुष्टि मिल्ने भएकाले पुनः व्याण्डमा सक्रिय हुन लागेको उनले बताएका छन्।

विनयले तीन वर्षअघि नै पुनः व्याण्ड बनाउने प्रयास सुरु गरेका थिए। अहिले त्यो प्रयासले मूर्तरूप लिएको उनको भनाइ छ। उनका अनुसार व्याण्डले केही गीतहरूको रेकर्डिङ पनि गरिसकेको छ।

नयाँ व्याण्डमा पाँच सदस्य छन्। विनय लिड भोकलिस्टका रूपमा रहनेछन् भने सलोन रम्तेल र रुशान्त विशुङ्खे गिटारिस्टका रूपमा, आदर्श शाही खड्गी ड्रमरका रूपमा र जोन रोका बासिस्टका रूपमा रहनेछन्।

यो व्याण्डले आगामी साउन २४ गते लाइभ कन्सर्ट तथा नयाँ एल्बम रिलिज गर्ने तयारी गरेको छ। सोही दिन व्याण्डको नयाँ गीतको भिडियो पनि सार्वजनिक गर्ने योजना छ।

एकलरूपमा सक्रिय रहँदा विनयले २०६३ सालमा ‘जब तिमी एक्लै थियौं’ गीतमार्फत पहिलोपटक चर्चा कमाएका थिए। त्यसपछि ‘मायामा घात’ (२०७०) र ‘मायामा फसे कि म’ (२०७८) जस्ता गीतहरू नेपाली श्रोताको रोजाइमा परेका थिए। पछिल्लो समय उनले गाएको ‘एक्स लभर’ गीत टिनएजर युवा श्रोतामाझ लोकप्रिय छ।