Sur Cinema

टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ : निर्देशक ऋषि लामिछाने

काठमाडौं : सोमबार सार्वजनिक भएको ‘माग्ने राजा’को टिजरलाई यतिबेला दर्शकको सकारात्मक प्रतिक्रिया मिलिरहेको छ अर्थात टिजरमा राखिएको संवादलाई दर्शकले रुचाएका छन् । त्यसैगरी टिजरमा देखिएको प्रडक्सन भ्यालुले पनि दर्शकलाई सन्तुष्ट बनाएको छ । सिनेमाको निर्देशक ऋषि लामिछानेले टिजरले तीन दिनमा १० लाख दर्शक पाउनुलाई सिनेमाले कमाएको विश्वासको रुपमा ग्रहण गरेको बताए ।

निर्देशक लामिछानेले अनुसार सिनेमा हास्य विधामा निर्माण भएको र टिज गर्ने हिसाबले टिजरले सिनेमालाई लिएर कौतुहलता सिर्जना गर्न सकेको आभाष भएको बताए ।

‘टिजरको काम टिज गर्ने अर्थात् दर्शकलाई सिनेमाप्रति उत्सुक बनाउने हो । टिजरले त्यो गरेको छ । केदार घिमिरेलाई पहिलो पटक मुख्य भूमिकामा प्रस्तुत गर्ने चुनौती लिइरहँदा, दर्शकको स्वीकारोक्तिलाई लिएर दुविधाहरु थिए । तर टिजरमा आएको प्रतिक्रियाले हामी ढुक्क भएका छौँ,’ लामिछानेले भने ।

उनले पनि सिनेमाको मुख्य कथा माग्नेको चरित्र वरिपरि घुम्ने भएकाले प्रचार सामाग्रीमा उनकै चरित्रले स्थान पाउने बताए । ‘यो कथालाई माग्नेकै स्पिन अफ चरित्र भने पनि हुन्छ र हामीले घोषणादेखि नै यही कुरा भन्दै आएका छौँ । हामीले माग्नेलाई एउटा हास्यरसयुक्त कथासहित प्रस्तुत गर्ने प्रयास गरेका हौँ । यही अपेक्षाअनुसार सिनेमालाई हेर्नुभयो भने निराश हुनुपर्दैन,’ लामिछानेले भने ।

उसो त ऋषि लामिछाने एक सफल निर्देशक हुन् । उनले निर्देशन गरेका आध दर्जन सिनेमाहरु सफल छन् । “आफ्नो मान्छे आफ्नै हुन्छ” “श्रीमान श्रीमती “, हवल्दार सुन्तली, “किस्मत २” लगायतका सिनेमाहरुले बकस अफिसमा सर्वाधिक सफल छन तर ती सबै नारी प्रधान र पारिवारिक सिनेमा थिए ।

अहिले ८ वर्षपछि एकाएक उनी कमेडी जनराको सिनेमा “माग्ने राजा” लिएर आएका छन् । अगाडी बनाएका सिनेमाले जस्तै यो सिनेमाले पनि सफलता हात पार्नेमा उनी ढुक्क देखिन्छ ।

आगामी भदौ ६ गतेबाट देशब्यापी प्रदर्शनमा आउने सिनेमाको टिजरले दर्शकमाझ राम्रो हाइप बनाउन सफल भएको छ । मुनाल घिमिरेको लगानीमा बनेको सिनेमामा केदार घिमिरेसँगै विल्सन विक्रम राई, वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी आदि कलाकारको अभिनय रहेको छ । सिनेमालाई नरेन्द्र मैनालीले छायांकन गरेका हुन् ।