Sur Cinema

रमाइलो संवादले भरपुर्ण ‘माग्ने राजा’को टिजर

काठमाडौं : केदार प्रसाद घिमिरे उर्फ माग्ने बुढालाई केन्द्रमा राखेर तयार पारिएको ऋषि लामिछाने निर्देशित सिनेमा ‘माग्ने राजा’को टिजर सार्वजनिक भएको छ । सोमबार सार्वजनिक टिजर रमाइलो संवादले भरिएको छ ।

केदार घिमिरेका भिन्न स्वरुप देखिने सिनेमामा विल्सन विक्रम राई केदार घिमिरेको भान्जा बनेको देख्न सकिन्छ । विल्सन र केदार घिमिरेको जोडी टेलिभिजनको पर्दामा माग्ने बुढा र तक्मे बुढाको जोडीको रुपमा परिचित छ । १ मिनेट ५९ सेकेन्डको लामो टिजरमा वर्षा सिवाकोटी र शिशिर वाङदेल पनि अटाएका छन् । टिजरले दुवैको भूमिकाको बारेमा भने उति धेरै खुलाएको छैन ।

केदार घिमिरेलाई पोस्टरमार्फत् नै भिन्न स्वरुपमा प्रस्तुत गरेर चर्चा कमाएको निर्माण टिमले टिजरमा पनि माग्नेलाई नयाँ स्वरुपमा प्रस्तुत गरेको छ । ‘माग्ने राजा’मा केदार घिमिरे पहिलो पटक मुख्य भूमिकामा देखिन लागेका हुन् ।

आरम्भ प्रडक्सनको ब्यानरमा मुनाल घिमिरेको प्रस्तुतकर्ता र मधुसुदन शर्मा निर्माता रहेको सिनेमामा नरेन्द्र मैनालीको छायांकन, सामीप्यराज तिमल्सेनाको लेखन, सुजिल कर्माचार्यको पाश्र्व संगीत र मित्र गुरुङको सम्पादन रहेको छ । सिनेमाको टिजर साहिल खानले तयार गरेका हुन् । आगामी भदौ ६ मा नेपालसँगै विदेशमा प्रदर्शन हुने तयारी भइरहेको सिनेमालाई आरआर फिल्मले वितरण गर्दैछ ।