काठमाडौं : निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको सिनेमा ‘जहाजैमा’मा अहिलेका चर्चित कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ अनुबन्धित भएका छन् । मंगलवार निर्माण टिमले केदारसँग कागजी संझौता गरेको छ । कृषा र केदारले पहिलो पटक सिनेमामा सहकार्य गर्न लागेका हुन् ।
यो सिनेमाको हाल धमाधम प्रि–प्रोडक्सनको काम चलिरहेको छ । आज कलाकार केदारसँग निर्माता उज्ज्वल गुरागाईं र कृषा मिलेर कागजी संझौता गरेका हुन् ।
सिनेमामा मल्टिस्टारर कलाकारहरू रहने छन् । यो सिनेमामा यसअघि जापानीज नायिका रुजेल इचिमिया फाइनल भइसकेकी छिन् । सिनेमाले नेपाल, जापान र फिलिपिन्सको कथा भन्नेछ । यूएनए प्रोडक्सनको व्यानरमा निर्माण हुन लागेको सिनेमाको छायांकन भदौबाट सुरु हुनेछ । नेपाल, जापान र फिलिपिन्समा खिचिने सिनेमाको कथा अभिमन्यु निरविले लेख्दै छन् ।















