काठमाडौं : मदन खड्काको निर्देशन र खुसी फिल्म्सको ब्यानरमा सिनेमा ‘महाकाव्य’ निर्माण हुने भएको छ । फरक धारको कथा, विश्वस्तरीय भिजुअल इफेक्ट्स र दमदार एक्सनका साथ निर्माणको तयारीमा निर्माण टिम जुटेको छ । निर्माणपक्ष हाल प्री-प्रोडक्सन कार्य तीव्र गतिमा अगाडि बढिरहेको निर्माण टिमले जनाएको छ ।
थुप्रै चर्चित म्युजिक भिडियो निर्देशन गरिसकेका खड्काको ‘महाकाव्य’ डेब्यु सिनेमा हो । एक्सन निर्देशनमा शुक्रराज शाह रहनेछन् । सिनेमाको थिम पोस्टर सार्वजनिक गरिएको छ । थिम पोस्टरमा दुई ज्वालामुखी भालाहरूको टक्कर भएको दृश्य समावेश छ। यसले सिनेमाले केहि नयाँ दिने संकेत बुझ्न सकिन्छ। को होला त्यो आवाज जसले महाकाव्य लेख्ने छ ?
सिनेमामा काम गर्ने प्रमुख कलाकारहरुको बारेमा अहिले खुलाइएको छैन। ‘महाकाव्य’ले दर्शकलाई एउटा अद्भुत सिनेम्याटिक अनुभव दिने लक्ष्य राखेको छ । ऐतिहासिक, पौराणिक र आधुनिक फ्यान्टासीको संयोजनमा आधारित यो सिनेमा नेपाली सिनेमा इतिहासमै नयाँ युगको सुरुवात हुने मानिएको छ।
सिनेमामा मुख्य भूमिकामा नयाँ अनुहारलाई प्रस्तुत गरिँदैछ । निर्माण टिमका अनुसार, उक्त कलाकारले शारीरिक रुपमा परिवर्तन गर्नुका साथै एक्सन र नृत्यमा गहिरो तालिमसमेत लिएका छन् । हाल उनी अन्तिम तयारीमा छन्। सिनेमाको छायांकन भदौ देखि सुरु हुने तयारी छ।
निर्माता शान्ती मगरको लगानीमा निर्माण हुने ‘महाकाव्य’ महादेवको शक्ति, एक अनुपम प्रेमकथा र रहस्यमय साहसिक यात्राको माध्यमबाट नेपाली पौराणिक कथाहरूलाई पुनर्जीवित गर्न खोजिएको कथा हो । सिनेमाले नेपाली संस्कृति, मिथक, र हराउँदै गएका पवित्र स्थलहरूको कथा भिजुवल माध्यमबाट गहिरो रूपमा प्रस्तुत गर्ने उद्देश्य राखेको छ।















