Sur Cinema

फ्राइडे रिलिज : सिनेमाघरमा ‘महाभोज’

काठमाडौं : सिनेमा ‘महाभोज’ आज शुक्रबारबाट देशभरका सिनेमा हलहरूमा प्रदर्शनमा आएको छ । दिनेश राउत निर्देशित यस सिनेमाले करिब २०० शोसहित सार्वजनिक प्रदर्शनको सुरुवात गरेको हो । दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, र गौमाया गुरुङको मुख्य भूमिका रहेको यो चलचित्रले दर्शकमाझ राम्रो प्रभाव पार्ने अपेक्षा गरिएको छ।

काठमाडौंमा केही दिनअघि प्रिमियर भइसकेको ‘महाभोज’ को टोलीले हालै पोखरा र बुटवलमा पनि विशेष शो आयोजना गरेको थियो । यसै क्रममा बिहीबार एकै दिन विराटनगर र धरानमा पनि भव्य प्रिमियर शोहरू सम्पन्न गरेका थिए । यी प्रिमियरहरूमा सहभागी दर्शकहरूले सिनेमाप्रति निकै उत्साह देखाएका छन् ।

हाल सिनेमाको स्वतन्त्र समीक्षा र दर्शक प्रतिक्रियालाई महत्त्व दिने प्रचलन बढिरहेका बेला ‘महाभोज’ले व्यापक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यसले गर्दा सिनेमाले दर्शकको मौखिक प्रचार मार्फत निकै राम्रो दर्शक पाउने निश्चित देखिएको छ ।

काठमाडौं उपत्यका बाहिरका प्रिमियर शोहरूमा कलाकारहरू आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महतका साथै निर्देशक दिनेश राउत पनि उपस्थित थिए । सिने युनिटले प्रिमियरबाट प्राप्त दर्शकको प्रतिक्रियाले आफूहरू निकै उत्साहित भएको बताएको छ ।

प्रिमियर शोहरूमा समाजका प्रतिष्ठित व्यक्तिहरू, पत्रकारहरू, र केही सहकारी पीडितहरू पनि सहभागी थिए । विशेष गरी सहकारी पीडितहरूले यो सिनेमा सबैले हेरेर राज्यलाई व्यापक दबाब दिनुपर्ने प्रतिक्रिया दिएका छन् । उनीहरूले सिनेमाले यथार्थपरक चित्रण गरेको र न्यायका लागि आवाज उठाउन प्रेरित गर्ने बताए। । अन्य दर्शकहरूले भने सिनेमाले मनोरञ्जनका साथै आम नेपालीलाई ठुलो चेतना दिएको बताएका छन् ।

‘महाभोज’ क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुतिमा बनेको सिनेमा हो । यसका निर्माता हिमाल कडरिया हुन् ।