काठमाडौं : सिनेमाघरमा आजदेखि दुई सिनेमा प्रदर्शनमा आएका छन् । नवीन चौहानको निर्देशन रहेको सिनेमा ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामा निर्देशित सिनेमा ‘जार’ । यि दुवै सिनेमाको काठमाडौंमा भव्य प्रिमियर गरिएको थियो जहाँ दुबै सिनेमाले तारिफ बटुल्न सफल भएका थिए ।
वैशाख महिना सुरु भएयता नेपाली सिनेमा आशालाग्दो व्यापार गर्न नसकिरहेको अवस्थामा आजदेखि दुई यी दुई आशातीत सिनेमा एकसाथ प्रदर्शनमा आएका छन् । फरक कथावस्तुमा बनेका यी दुवै सिनेमाको मंगलबार साँझदेखि देशभरका प्रायः मल्टिप्लेक्स हलहरूमा शो टाइमसहित अग्रिम टिकट बुकिङ खुल्ला गरेका थिए । दुई सिनेमामध्ये शो संख्यामा ‘ऊनको स्वीटर’ अगाडि देखिएको छ ।
आर्टमाण्डू प्रा.लि.को व्यानरमा निर्माण भएको सिनेमा ‘ऊनको स्वीटर’ मा अभिनेता विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सनविक्रम राई मुख्य भूमिकामा रहेको छ । साथमा अनुभवी कलाकारहरू सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपांगी मगरलगायतको अभिनय छ ।
यस्तै, सिनेमा ‘जार’ २२५ वर्षअगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो । ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा हो । सिनेमामा सौगात मल्ल, अनुपविक्रम शाही, अभिनेत्री गीताञ्जलि थापालगायत कलाकारको मुख्य भूमिका छ ।















