Sur Cinema

‘महाभोज’ प्रेसमिट विवाद : बेतुकको प्रश्नमा अराजक जवाफ

दिक्षा कट्टेल

दिक्षा कट्टेल

काठमाडौं : सिनेमा ‘भुठान’को प्रचारप्रसारको क्रम चलिरहेको थियो । निर्माता मध्यका एक अवीरल थापाले सामाजिक सन्जालमा एक पोस्ट सार्वजनिक गरे । “फिल्मले पैसा नबाँड्ने भनेपछि युट्युवर वाला पत्रकार भन्नेहरू चाहिँ छेउछाउमै/सम्पर्क मै नआउने रैछन् ! छन् गेडी क्यामेरा तेरी छैनन गेडी क्यामेरा टेढी !” लेखिएको उनको पोस्टलाई लिएर यति बिरोध हुन थाल्यो कि सिनेमाको व्यापार मै असर पर्ने देखेर होला थापाले पोस्ट हाईड गरे ।

पत्रकारिताको लामो अनुभव र पत्रकारिता पढाउने क्याम्पस चलाएर बसेका थापाले पोस्ट हाईड त गरे । तर उनी माथी पत्रकारको आक्रमण रोकिएन । उनलाई पत्रकारलाई “पत्रकार भन्ने युट्युवरवाला” भन्दै पत्रकारीता पेशालाई होच्याएको आरोप लगाईयो । थापाले आफ्नो पोस्टलाई प्रस्ट्याउने प्रयास त गरे । तर एकोहोरो प्रश्नबाट हार खाएर हो कि सिनेमाको ब्यापारको चिन्ताले उनी सिथिल देखिए । थापाको पत्रकारिता क्षेत्र संगको लामो नाताका बिच उनलाई उनको पोस्टको गहिराईमा नपुगी “निर्माताले पत्रकारलाई होच्याएको” शैलीमा खेदियो । र सिनेमा ‘भुठान’ कै मुख्य पात्र हरिवंश आचार्यले समेत माफी माग्नु पर्यो ।

उक्त समय थापालाई एकोहोरो प्रहार गर्ने पत्रकार थिए किशोर श्रेष्ठ । किशोरको प्रश्नमा पत्रकारहरुको तालिको गड्गडाहटले हल हल्लिएको थियो । किशोरको समर्थनमा धेरैले सामाजिक सन्जालमा पोस्ट गरे । कति पत्रकारले त घुमाउरो भासामा “भुठान” सिनेमा छायांकनको क्रममा आफुले “स्पेसल टृटमेन्ट” नपाएको गुनासो पनि पोखे । यो सिनेमाको विवाद सेलायो ।

विवाद त सेलायो । तर बेथितिको प्रश्नले मन बिझाईरहेकै थियो । के हामी पत्रकार पेशा छोडेर पैसाको पछि छौ त ? अझ अर्को प्रश्नले मन पोलिरहेको थियो । यदि पत्रकारिता नै गर्दैछौ भने हामीलाई निर्माताले आफै फोन म्यासेज गरेर या कसैलाई जिम्मा लगाएर बोलाउन पर्ने हो त ? आफुलाई आवश्यक सुचना संकलनका लागि हामीले कहाँ कता के कसरी कस्लाई भेटिन्छ भनेर खोजी पो गर्ने होला त ! भिन्न विषय फरक एङ्गलले खोजी गर्दै पत्रकार पुग्न पर्ने होला । न कि कस्ले बोलायो को संग हाम्रो निकट सम्बन्ध छ छनेर “सिन्डिकेट” सम्म लगाउने ।

खैर पत्रकार र सिनेकर्मी विवाद मै फर्किउ, निर्माता हच्किए भन्ने परेर हो या पत्रकारको समुहको तालिको गडगडाहटले हौसिएर हो, श्रेष्ठ आफ्नो पुरानै धम्किपुर्ण शैली बोकेर सिनेमा ‘महाभोज’को गीत रिलिज सार्वजनिक कार्यक्रममा पुगे र प्रश्न तेर्स्याए । उनको लवजमा नरमपनाको लेश सम्म थिएन ।

उनले सिनेमाले उठाएको विषय माथी समाजलाई जोडेर प्रश्न गरेका थिए । प्रश्न सोध्ने क्रममा उनले ‘समाजको कथा बेचेर पैसा कमाउने नियत मात्रै हो कि समाधानको बाटो पनि खोज्नु भएको छ ?’ भन्ने आशयको प्रश्न सोधे । यो प्रश्न सिनेमा मेकरलाई पत्रकारहरुले पहिलो पटक सोधिएको प्रश्न भने होईन । यस अघि धेरै पटक यो प्रश्न कलाकार दयाहाङ राईको सिनेमा माथी परेको थियो । उनले सहज रुपमा पहिला झै गरि ‘सिनेमाको काम नै समस्या देखाईदिने हो’ भनेर भनिदिए ।

तर, निर्देशक दिनेश राउत र कलाकार निश्चल बस्नेत भने प्रतिप्रश्नमा उत्रिए । कला क्षेत्रलाई हेर्दा देखाएर / देखिएर नै पैसा कमाउने क्षेत्र देखिन्छ । यसका अन्य धेरै प्राविधिक पाटा होलान । तर सबैले साधारण रुपमा बुझ्ने भनेको देखिने क्षेत्र नै हो सिने क्षेत्र । होईन भने निर्माताले चलेका निर्देशक, निर्देशकले चलेका कलाकार खोजेर सिनेमा बनाउने थिएनन । दयाहाङलाई नै कुरेर सिनेमा निर्माणमा कैयौ महिना निर्माता निर्देशकहरु पर्खिने थिएनन ।

अब कुरा गरौ निश्चलको जवाफको,’तपाईं यहाँ हामीहरुले बोलिरहेको भिडियो खिचेर पैसा कमाउन आएको हो ?’
निश्चलले यति भन्दै गर्दा बुझ्न के आवश्यक थियो भने यो सिनेमामा कलाकारको रुपमा बिक्ने भनेको निश्चलको अनुहार नै हो । किनकी उनको बौद्धिक पाटो हेर्न कि त बहस, कुराकानी नै गर्न पर्यो कि त उनको कथा र निर्देशन रहेको सिनेमा सम्म पुग्न पर्यो । त्यहा श्रेष्ठ मात्रै होईन प्राय सबै जना बोलेको भिडियो खिचेर पैसा नै कमाउन आउनुभएको हो । किनकी सिनेमाले उठाएको विषयले पत्रकारको घरमा चुलो बल्दैन । तर यही पैसा कमाउन हालेको भिडियो, समाचार हेरेर दर्शक हल सम्म आए भने मेकरको चुलो बल्ने र पैसा कमिने पनि सत्य नै हो । र ‘निश्चल’हरुले कलाकारको रुपमा मोटो रकम लिएर घरको चुलो बालिरहन पाउने पनि सत्य हो ।

त्यस पछिका किशोरका प्रश्न र निश्चलका जवाफ ‘केटाकेटी आए गुलेली खेलाए मट्याङ्राको सत्यानास’ भन्ने उखानको चरितार्थ बाहेक केही पनि थिएनन ।

इमेलमा आएका समाचारलाई यसो मिलाएर राखिदिने बन्दै गएको कला पत्रकारिताको बेथिती माझ हामी कतिजना समाचारका लागि मेहनत गरेर पुग्छौ त्यो हामी स्वयमले मनन गर्ने विषय रह्यो । साथै सधै आफ्नै पक्षमा मात्रै कुरा सुन्न चाहने एक प्रतिशत मात्रै पनि आफ्नो बिरुद्ध केही सुन्नै नखोज्ने । उस्तै परे कल म्यासेज गरेर धम्की दिन पछि नपर्ने सिनेकर्मीहरुले पनि आफ्नो व्यवहार बदल्ने समय आएको हो कि ? होइन भने प्रश्न सोध्न र आफ्ना कुरा राख्न भनेर प्रेस मिट राखे पछि प्रश्न सुन्नै नसक्ने रिस देखाउने गर्ने हो भने आफुलाई सहज लाग्ने प्रश्न र जवाफ तयार गरेर सजिलो माध्यम इमेल गरे भैगयो । अझ त्यति पनि दुख हुन्छ भन्ने लाग्दा सामाजिक सन्जालमा जोडिएका ‘पत्रकार साथीभाई’को म्यासेन्जरमा पठाउँदा सहज हुन्छ, प्रश्न झेल्नै पर्दैन ।

होईन, भने जसरी हामी पत्रकारले प्रेसमिटको विषयको अध्ययन नै नगरी पुगेर बेतुकका प्रश्न गरिरहेका छौ त्यसैगरी ‘निश्चल’ पाराको अराजकता भरिएका ‘जवाफहरु’ दिदा पनि भयो ।