काठमाडौं : चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘कर्मा’को गीत ‘सारी लगाइदेउ’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा सलिना बिकको स्वर छ । शब्द सुष्मा सिग्देलको छ भने संगीत भाष्कर स्वारको रहेको छ । भाष्कर स्वार र सुवास पौडेलले एरेन्ज गरेको भिडियो मिक्सिङ तथा मास्टरिङ शास्वत श्रेष्ठले गरेका छन् ।
नेपाली समाजका टिपिकल शब्द प्रयोग गरिएको गीतले सांस्कृतिक झल्को सङ्गै नेपाली संस्कृति बोल्ने प्रयास गरेको छ । माया–प्रेम दर्शाउँदै व्यंग्य गरेको गीतले मर्दपनको पनि कुरा गर्छ । संस्कृतिभित्र प्रेम र व्यंग्य एकसाथ मिसाइएको गीतले दर्शकको मन जित्ने निर्माणपक्षको विश्वास छ । विशेषगरी रत्यौली संस्कृतिमा यो गीत तयार पारिएको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपीन कार्की, उपासना सिंह ठकुरीलगायतको अभिनय छ । रत्यौलीमा विपीनको प्रवेशले गीतको भिडियो रोमाञ्चक बनेको देख्न सकिन्छ । महिलाको पहिरन र मेकअपमा विपीन देखिँदा भिडियो ठठ्यौली र रमाइलो पनि देखिएको छ ।
‘कर्मा’मा विपीन र उपासनासँगै मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को छेको पारेर सिनेमा ‘कर्मा’ आगामी चैत २९ गते रिलिज हुँदै छ । सिनेमा नेपाल र विदेशमा एकसाथ प्रदर्शन हुनेछ ।
एक्सन जनरामा निर्माण भएको सिनेमाड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ । सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् । सिनेमा अन्तर्राष्ट्रिय प्रदर्शन बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ । सिनेमामा भाष्कर स्वाँरको संगीत निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादन छ ।
तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको सिनेमामा समीर मियाको भिएफए, उत्तम न्यौपानेको व्याकग्राउण्ड स्कोर, शाहिल खानको टिजर–ट्रेलर, विजय बाश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तान कलरिस्ट रहेका छन् । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने सिनेमामा वसन्त लम्सालको लगानी रहेको छ । आर्टिस्टिक इनटरटेनमेन्टले निर्माण गरेको यो पहिलो सिनेमा हो ।















