Sur Cinema

कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त ?

काठमाडौं : निर्देशक कृषा चौलागाईं सिनेमा ‘पिताम्बर’ लिएर चैत २९ गतेबाट दर्शकमाझ आउँदैछिन् । सिनेमा ‘पिताम्बर’को कन्सेप्ट कृषाले ‘एैचो पैचो’ भन्दा अगाडि नै बनाएकी रहिछन् । तर उनले ‘एैचो पैचो’ पछि मात्र ‘पिताम्बर’ बनाउने निर्णय लिइन् किनकी ‘पिताम्बर लार्ज स्केलको सिनेमा भएर पहिला सिम्पल फर्म्याटको ‘एैचो पैचो’ नै गर्छु भन्ने निर्णय लिएँ । किनकी ‘एैचो पैचो’ पहिलो निर्देशकीय सिनेमा भएकाले दर्शक र सिनेकर्मीबाट कस्तो प्रतिक्रिया पाउँछु भन्ने थियो । यो सिनेमा मेरो मनमा बसेको सिनेमा थियो । यसलाई सबैले एप्रिसियट गरे । ‘एैचो पैचो’ रिलिज भएपछि मात्र मैले ‘पिताम्बर’का लागि विभिन्न लेखकसँग बसेर स्क्रिप्टको डिजाइन गरेंं’, कृषा भन्छिन् ।

कृषा ‘पिताम्बर’लाई भरपुर एक्सन सिनेमा भन्छिन् । बीचको समयमा एक्सन सिनेमा कम आइरहँदा आफ्नो सिनेमामा दर्शकले केही फरक पाउने उनको बुझाई छ । ‘एक्सन सिनेमामा खर्च र समय धेरै लाग्छ । यस्तो सिनेमामा मान्छेले रिस्क लिन चाहँदैन’, कृषा भन्छिन्, ‘यो सिनेमा प्रदीप खड्काका लागि पनि नयाँ हो । प्रदीपलाई फरक अवतारमा हेर्न चाहने दर्शकको चाहनालाई ‘पिताम्बर’ले पुरा गरिदिनेछ । किनकी प्रदीपलाई फूल्ली एक्सनमा हेर्ने दर्शकको रहरलाई ‘पिताम्बर’ले पूर्णता दिन्छ ।’

कृषाले एक्सनलाई किन प्राथमिकता दिइन् त ? यो सबैको चासोको विषय हो । कृषाले सिनेमाको स्क्रिप्ट पुरा गर्न झण्डै एकदेखि डेढ वर्ष लगाइन् । ‘लामो समयदेखि सिनेमाहरु एउटा विशेष कुरामा मात्र केन्द्रित भइरहेका थिए । कतिपयले स्थानीय कथा देखाउनुपर्छ भन्दै हामी त्यता पनि लागिरहेका थियौं । एउटा यस्तो सिनेमा बनाउनुपर्छ, जुन वियोण्ड द इमाजिन होस् । जसमा मेकर स्वतन्त्र होस् । म यस्तै सिनेमा बनाउँन चाहन्थें । त्यस्तो सिनेमा नआएको पनि धेरै समय भइसकेको थियो । त्यस्तो सिनेमाले मासलाई हलसम्म तान्न सक्छ । मासलाई हलमा तान्न सक्नु नै सिनेकर्मीको जित हो । त्यसकारण मासलाई हलमा ल्याउन पिताम्बर बनाएँ’, उनी भन्छिन् ।

कृषा ‘पिताम्बर’लाई फरक कथाको सिनेमा भन्दिनन् । तर सिनेमा हेरेपछि भने दर्शकले सन्देश भन्दा पनि मजा बोकेर घर जाने उनको दाबी छ । ‘अहिले सिठी बज्ने, ताली बज्ने, हुटिङ आउने सिनेमा छैन । ‘पिताम्बर’ हेरेपछि दर्शकले पीडा भूलेर मजा बोकेर घर आउँछन् । ‘पिताम्बर’ले दर्शकलाई मजा दिन्छ’, कृषा खुल्छिन् ।

‘पिताम्बर’ पूर्ण रुपमा इन्टरटेनिङ सिनेमा भएकाले दर्शकले काटेको टिकट र छुट्याएको समय खेर नजाने उनी ठोकुवा गर्छिन् । ‘दर्शकले एउटा टिकटमा ३,४ जना हिरोले अभिनय गरेको सिनेमा हेर्न पाउनुहुन्छ । ‘पिताम्बर’मा नेपालमै पहिलोपटक तीनवटा क्यामराले खिचेका छौं । बाहिरबाट धेरै प्राविधिक सामान ल्याएका छौं । मेकिङका हिसाबले पनि यो सिनेमा कस्तो बनेको रहेछ भन्ने दर्शकमा चासो भइरहेको छ । सिनेमाले दर्शकलाई कनेक्ट नै गर्छ’ उनी भन्छिन् ।

कृषाले ‘पिताम्बर’को अवधारणा दिमागमा खेलाइरहँदा उनले अभिनेता प्रदीप खड्कालाई नै सम्झिएकी रहिछन् । उनलाई अलिकति आर्यन लुक्स, हल्का दाह्रीजुँगा भएको र राम्रो काम गर्न सक्ने कलाकार चाहिएको थियो । यो तिनवटै गुण उनले प्रदीपमा भेटिन् । ‘हाम्रो कथा नै स्टारबाट सुरु हुन्छ । त्यसकारण दर्शकको मन मुटुमा बसेको र राम्रो अभिनयका कारण चर्चामा आएका कलाकारलाई नै प्राथमिकता दियौं । कलाकारको परफर्मेन्स भन्दा पनि कोही भन्दा कोही कम नदेखिऊन् भनेर मल्टीस्टार लियौं । तीन प्रमुख कलाकार निश्चित थिए । सिनेमा बन्दै गएपछि अन्य कलाकारहरु पनि जोडिनुभयो’, कृषा भन्छिन् ।

कृषाको दिमागमा सुरुमा नै प्रदीप आउनुको कारण छ । कृषा भन्छिन्, ‘प्रदीप अरु भन्दा फरक छ । उसकोे डेडिकेसन कतिसम्म छ भने धेरै समयसम्म पनि ऊ सिनेमामै भएर बसेको हुन्छ । मेकरले एउटा कलाकारको हेर्ने कुरा भनेको त्यही हो । परफर्मरका रुपमा प्रदीप धेरै जेन्टलमेन हो । उसको लुक्स पनि छुट्टै किसिमको छ । अलिक फ्रीली वातावरणमा राम्रो काम गर्छु भन्दा आफू अगाडिको मान्छे पनि त्यति नै फ्रेण्डली हुनु जरुरी छ । यो सबै कुराले प्रदीप उपयुक्र्त थियो ।’

कृषाले प्रदीपका लागि एक्सन कोचको व्यवस्था गराएकी रहिछन् । ‘एक्सन सिनेमा भन्ने बित्तिकै सिक्स प्याक भन्ने हुन्छ । तर तपाईं हाम्रो घरमा कसैलाई केही पर्यो भने सिक्स प्याक छैन भन्दैमा बदला नलिने त हुँदैन नि । हाम्रो रगत नतातिने त हुँदैन नि । एउटा भुइँमान्छेलाई केही समस्या पर्यो भने त्यसलाई कसरी व्यक्त गर्छ भन्ने हो । मैले प्रदीपलाई एक्सनका लागि सिक्स प्याक बनाउनु पर्दैन । तर तिमीले फाइटमा आफूलाई एग्रेसिभ बनाउन फाइट तालिम लिनुपर्छ भनेर ट्रेनर राखेको थिएँ’, उनी भन्छिन् ।

संसारमा ‘ह्युमन इमोसन’को कथाले कहीँ न कहीँ छुने भएकाले ‘पिताम्बर’मा पनि ह्युमन इमोसनकै कथा प्रस्तुत गरिएको कृषा स्वीकार्छिन् । यो सिनेमा तराईमा छायांकन गरिएको छ । कृषा ह्युमन इमोसनको कथा देखाउन लोकेसनले खासै फरक नपार्ने बताउँछिन् । ‘तराई भौगोलिक हिसाबले सहज छ । सिनेमाका लागि चाहिने समानहरु भारतबाट ल्याएका छौं । बोर्डर नजिक काम गर्दा सहज हुन्छ भनेर नै तराई रोजेको हो’, कृषा भन्छिन् ।कृषाको मनपर्ने जनरा नै एक्सन हो । एक्सन सिनेमाको जस्तो जोश र जाँगर अनि क्यानभास अन्य सिनेमामा कमै मात्र पाइने भएकाले पनि एक्सनप्रति कृषाको झुकाव रहेछ ।

कृषाको अनुभवमा ‘पिताम्बर’ उनका लागि सिनेमा नभई ‘तपस्या’ हो । टिजर र गीतबाट प्राप्त प्रतिक्रियाले पुलकित कृषा अब ट्रेलर सार्वजनिक गर्ने तयारीमा छिन् । ‘दर्शकले ट्रेलर हेरेपछि यो सिनेमा हेर्छु भन्ने निर्णय लिनुहुन्छ भन्नेमा म ढुक्क छु’, उनी भन्छिन् ।

उनले सुटिङको समयमा प्रमुख तीन पात्रलाई एकै ठाउँमा राख्नु, सपोर्टिङ क्यारेक्टर, भिलेनलाई एकै समयमा एउटै फ्रेममा राख्नु सर्वाधिक गाह्रो बनेको बताइन् । ‘सिनेमाको सबै एक्सन सिक्वेन्समा म आफैं उपस्थित थिएँ । कलाकारको समय मिलाउनु एकदमै गाह्रो भयो । मैले यति डिग्रीको किक हान्नुपर्छ, मेरो पात्रले हुन्छ भन्दैमा धेरै हान्न पाउँदैन भन्ने कुरा थियो’, उनले भनिन् ।